Monday, May 19, 2025
पर्यटनहतुवागढीमा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको औपचारिक शुभारम्भ
spot_img

हतुवागढीमा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको औपचारिक शुभारम्भ

spot_img

कोशी | भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’ अन्तर्गत आर्थिक वर्ष २०८१/८२ का गतिविधिहरूको औपचारिक शुभारम्भ गरिएको छ।

स्थानीय पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका माध्यमबाट आर्थिक समृद्धिको लक्ष्यसहित सञ्चालनमा ल्याइएको उक्त परियोजनाको उद्घाटन हतुवागढी गाउँपालिका–१ स्थित हसनपुरको माइबेनी नजिकको होम्बुपा भञ्ज्याङमा आयोजित विशेष समारोहमार्फत गरिएको हो।

नेपाल सरकार, स्विस सरकार, कोशी प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहहरूको साझेदारीमा सञ्चालित यस परियोजनाले कोशी प्रदेशका विभिन्न भागहरूमा पदयात्रा पर्यटनलाई प्रवर्द्धन गर्दै दीगो आर्थिक विकासको आधार निर्माण गर्ने उद्देश्य राखेको छ। परियोजना अन्तर्गत कोशी प्रदेशमा चारवटा प्रमुख पदमार्गहरू निर्माण गरिने लक्ष्य लिइएको छ, जसको कार्य सम्पन्न गर्ने समयावधि सन् २०२८ (वि.सं. २०८५) तोकिएको छ।

परियोजनाका प्रमुख पदमार्गहरूमध्ये “ग्रेटर मुन्दुम पदमार्ग” विशेष प्राथमिकतामा राखिएको छ। करिब १६८ किलोमिटर लम्बाइको उक्त पदमार्गले पूर्वी पहाडी जिल्लाहरूमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूलाई एकीकृत गर्दै पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरिने लक्ष्य छ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार ग्रेटर मुन्दुम पदमार्ग बराहक्षेत्रस्थित कोशीटप्पुबाट सुरु भई बेलका नगरपालिकाको मैनाराजा-मैनारानी, हतुवागढीको माइबेनी, ज्यामिरेभञ्ज्याङ, संखामचुली, दिमालुङ, आमचोक गाउँपालिकाको थामडाँडा, रामप्रसाद राई गाउँपालिकाको कपासेभञ्ज्याङ, टेम्केमैयुङ गाउँपालिकाको चखिया हुँदै साल्पा सिलिछो, साल्पापोखरी र अन्ततः सिलिचोङसम्म पुग्नेछ।

परियोजनाबाट निर्माण हुने पदमार्गहरूमा होमस्टे सञ्चालन, पर्यटक मार्गदर्शन सेवा, स्थानीय उत्पादनको व्यापार, पदमार्ग मर्मत तथा संरक्षण लगायतका कार्यहरूमा संलग्न भई स्थानीय युवाहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। यसले ग्रामीण क्षेत्रमा आत्मनिर्भरता तथा स्वरोजगारको वातावरण सिर्जना गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ लाई “कोशी प्रदेश पर्यटन वर्ष” घोषणा गरिसकेको छ। सो अवसरमा पर्यटन पूर्वाधार विकासलाई तीव्रता दिने सन्दर्भमा ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’ अन्तर्गतका परियोजनाहरूलाई विशेष प्राथमिकता दिइएको छ। पर्यटन वर्षको अवसरमा पदमार्गहरूको निर्माण, प्रचारप्रसार, सम्बन्धित कार्यक्रमहरू सञ्चालन तथा पर्यटनस्थलहरूको पहिचान र प्रवर्द्धनमा समेत विशेष जोड दिइने जनाइएको छ।

पदमार्ग पर्यटन प्रवर्द्धनका माध्यमबाट स्थानीय तहको दीगो समृद्धि, जैविक विविधताको संरक्षण, सामाजिक समावेशिता र समुदायमा स्वामित्वको भावना विकास गर्न परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img