काठमाडौं। जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमान अनुसार आज देशभरका धेरैजसो स्थानहरूमा बिहानैदेखि नै वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागले आज दिनभरि देशभर आंशिक देखि साधारणतया बदली रहने र केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा केही असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
आज रातिसम्म देशभर आंशिक देखि साधारणतया बदली मौसम रहने विभागले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
यस्तै, भोलि आइतवार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ। रातिसम्म कोशी प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने र ती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
अर्को दिन सोमवार पनि देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा भने हल्का हिमपात हुने सम्भावना छ।
यसरी अहिलेदेखि लगभग ३ दिनसम्म देशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा र उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।