विज्ञान/प्रविधितयार भयो चन्द्रमामा मानिस पुर्‍याउने विशाल रकेट, मानिस कहिले जाने भए चन्द्रमामा...

तयार भयो चन्द्रमामा मानिस पुर्‍याउने विशाल रकेट, मानिस कहिले जाने भए चन्द्रमामा नासाले बोल्यो (भिडियो सहित)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानवसहित चन्द्रमामा पठाउन तयार गरेको विशाल रकेट प्रक्षेपण केन्द्रमा पुर्‍याएको छ। इञ्जिन जाँचका लागि स्पेस लञ्च सिस्टम एसएलएस भनिने उक्त यान फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्याड ३९बी मा लगिएको हो। जाँच सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जाने कामका लागि तयार हुने छ।

तर त्यसका लागि अझै केही महिना लाग्ने छ। यो दशकको अन्त्यतिर अन्तरिक्षयात्रीहरू एसएलएसमा सवार भएर चन्द्रमाको सतहमा पुग्ने आकलन गरिएको छ। अन्तरिक्षयानलाई प्रक्षेपण केन्द्रमा लगिँदै गरेको दृश्य हेरेपछि नासाका प्रशासक बिल नेल्सनले “अन्तरिक्ष अन्वेषणको सुनौलो युगमा प्रवेश गर्न लागेको” बताए। “यो नयाँ सिमानामा पुग्ने तयारी गरिरहेको छ,” उनले भने। “यो पुस्ताले अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा पुर्‍याउने छ।

हामीले पहिलो महिला र पहिलो अश्वेत व्यक्तिलाई चन्द्रमामा पुर्‍याउँदै छौँ।” उनले नासाको आर्टेमिस कार्यक्रमले मङ्गल ग्रहमा मानव पुर्‍याउने लक्ष्यका लागि फड्को मार्ने बताए। एक सय मिटर अग्लो भीमकाय एसएलएस १९६० र १९७० का एपोलो यानहरूभन्दा शक्तिशाली यान हो। अन्तरिक्षयात्रीहरूलाई पृथ्वीबाट टाढासम्म लैजान मात्र नभएर उनीहरूलाई लामो समयसम्म आवश्यक पर्न सक्ने उपकरण समेत यसले बोक्न सक्छ।

केनेडीको भिइकल एसेम्ब्ली बिल्डिङबाट पहिलो पटक बिहीवार बाहिर निकालिएको थियो। यसलाई जडान कक्षबाट फ्लोरिडाको समय अनुसार साँझ ५:४७ बजे बाहिर निकालिएको थियो। मोबाइल लञ्चर भनिने ठूलो संरचनासहित यान बाहिर निकालिएको थियो। आफैँमा १२० मिटर अग्लो र ५,००० टन गह्रौँ यो संरचनाले यसअघि अरू अन्तरिक्ष यानहरू बोकेको थियो।

यान बोकेको यो साधनले एक घण्टामा एक किलोमिटर दूरी मात्र तय गर्न सक्छ। यो साधन ६.७५ किलोमिटरको दूरी पार गर्दै लञ्च प्याडमा पुग्दा शुक्रवार बिहान ४:१५ भएको थियो। एसएलएसलाई आगामी एप्रिल ३ मा हुने भनिएको अक्सिजन सहितका सामग्रीहरूको परीक्षण ‘वेट ड्रेस रिहर्सल’का लागि तयार गरिने छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img