मकवानपुर । मकवानपुरगढीमा नेपाली कांग्रेसले फोहोरी राजनीति गरेको घटना बाहिरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ६ नम्बर वडाकी सुनमाया स्याङ्तानलाई जर्वजस्ती महिला सदस्यमा उम्मेदवार दर्ता गर्न लगाएको घटना बाहिर आएको हो ।
स्याङ्तानले आज बिहीवार एक विज्ञप्ति जारी गर्दै आफू जन्मजात नेकपा एमालेको संगठित सदस्य भएको र कांग्रेसले जर्वजस्ती उम्मेदवारी दिन लगाएको जानकारी दिएकी छन् ।
उनले निर्वाचन कार्यालय मकवानपुरगढीमा दर्ता भएको उम्मेदवारी आफूले रद्द गर्न चाहेको भन्दै आफू कांग्रेसको उम्मेदवार नभएको सुनमायाको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ । सुनमायाले आफू एमालेको नीति, विचार र सिद्धान्त मान्दै सांगठनिक गतिविधिमा अगाडि बढ्ने जानकारी गराएकी छन् ।
मकवानपुरगढीको ६ नम्बर वडामा गत निर्वाचनमा एमालेका टिका प्रसाद दाहालले जितेका थिए । वडाबासी माझ लोकप्रिय उनै दाहाल पुनः वडा अध्यक्ष पदमा उम्मेदवार छन् ।



