काठमाडौँ । डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटेको छ । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटाएको हो ।
अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाएको छ । अब पूर्वाधार कर घटेपछि डिजेल र पेट्रोलको मूल्य घट्ने सम्भावना छ । त्यसका लागि उद्योग वाणिज्य मन्त्रालये निर्णय गर्नुपर्नेछ । त्यसपछि आयल निगमले उक्त निर्णय कार्यान्वयन गर्नेछ ।
नेपाल आयल निगमले भने पेट्रोलमा ठूलो घाटा खाइरहेको बताउँदै आएको छ । पेट्रोलियम पदार्थको पूर्वाधार कर घटाउन सरकारले आफू मातहतका भन्सार कार्यालयहरूलाई नै निर्देशन दिनुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाई छ ।
भन्सारबाट पूर्वाधार कर घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन गाह्रो हुने उनले बताए । ‘अहिले नै हामीलाई पेट्रोल, डिजेललगायतमा घाटा छ । त्यो घाटा परिपूर्ति गर्न नै घटाइएको करको उपयोगिता हुनेछ,’ उनले भने ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढाएको भन्दै सरकारको आलोचना भइरहेको छ । संघीय चुनाव नजिक आइरहेको अवस्थामा आलोचना कम गर्न भए पनि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने निष्कर्षमा पुगेको बताइन्छ ।



