काठमाडौं – तेस्रो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्युजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताए ।
‘मलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जान्छु । हिजो मेरो भारतको विदेश सचिव (विनयमोहन क्वात्रा) सँग पनि थोरै कुराकानी भएको थियो । सायद मेरो पहिलो भ्रमण भारत नै हुने सम्भावना देख्छु,’ एबीपीका पत्रकारले पहिलो विदेश यात्राबारे सोधेको प्रश्नमा दाहालले यस्तो जवाफ दिएका थिए।
दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा भारत नगई सन् २००८ मा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन चीन गएका थिए । नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले आफ्नो पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परा तोडेका छन् । तर पछि दाहालले बेइजिङबाट फर्किएपछि आफ्नो औपचारिक भ्रमण भारतबाट हुने दाबी गरेका थिए । दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि उनले भारतबाट औपचारिक विदेश भ्रमण गरेका थिए । यसपटक पनि दाहालले आफ्नो औपचारिक विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् ।
दाहालले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट पहिलो पटक बधाई आएको बताए । ‘जब म प्रधामन्त्रीको रुपमा राष्ट्रपतिको निवासबाट निस्किरहेको थिएँ, पहिलो बधाई आयो भारतीय राजदूत (नवीन श्रीवास्तव) को तर्फबाट,’ उनले भने,‘र, मैले महामहिम राजदूतलाई भनेँ तपाईँ नै पहिलो कुटनीतिज्ञ हुनुहुन्छ, जसले मलाई बधाई दिनुभयो । त्यसलगत्तै प्रधानमन्त्री मोदीजीको ट्विट आयो । नेपाल–भारत सम्बन्ध मजबुद बनाउने अपेक्षाको साथ उहाँले बधाई दिनु भयो,’ उनले भने,‘उहाँ (मोदी) पहिलो प्रधानमन्त्री हुनुहुन्छ, जसले मलाई बधाई दिनुभयो । यसलाई संयोगको कुरा भन्नु या यो पहिलो अन्तर्वार्ता तपाईँ र भारतीय च्यालनलाई नै दिँदै छु । त्यसैले मलाई खुसी र गर्व छ ।’
प्रधानमन्त्री दाहालले नेपाल भारत सम्बन्धलाई अघि बढाउने सन्दर्भमा दुवै मुलुकको ‘जेन्युन’ चासोको दुवै देश मिलेर सम्बोधन गर्नु पर्ने बताए । ‘आगामी दिनमा नेपाल र भारत बीचको विशिष्ट सम्बन्ध छ, त्यो हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृति, सबै–सबै विषयमा मजबुत बनाउने विषयमै हाम्रो जोड हुन्छ,’ उनले भने । दाहालले ओलीले भनेको नेपालमा रामजन्मभूमि, नक्सा बदल्नेको विषय र (केपी शर्मा) ओलीले भारतका मान्छे नेपालमा भारतका मान्छेले सरकार बदल्न चाहेको विषयहरु अब इतिहास भएको दाबी गरे । ‘त्यो इतिहास बनिसकेको छ । अब परिस्थिति नयाँ भइसक्यो । नयाँ विश्वासको साथमा कहीँ केही समस्या छ भने त्यो पनि संवादको मार्फतबाट गम्भीरता साथ वार्ता र कुराकानीकै मार्फत् समाधान गर्न सक्छौं र गरिरहेका पनि छौं,’ उनले भने ।
दाहालले सुरुदेखि नै आफूले भनिरहेको ‘प्रो–नेपालवाला लाइन’मा जान चाहेको बताए । ‘भारत र चीन तथा अरु बाँकी जति पनि मित्रहरुको साथ अन्तर्राष्ट्रिय मित्रहरु छन्, उनीहरुको साथमा राम्रो सम्बन्ध बनाउनु हाम्रो उद्देश्य हुन्छ । राजशाहीको समयमा कसैलाई प्रो–इन्डियन, कसैलाई प्रो–चाइनिज, कसैलाई प्रो–अमेरिकन गरेर नेपाली राजनीतिको विभाजित गरेर चलाउने एउटा बहुत परम्परा थियो,’ उनले भने,‘तर यो संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि भारतसँग जुन हाम्रो युनिक सम्बन्ध छ, जुन विश्वमा कहीँ पनि यस्तो सम्बन्ध देख्न सकिन्न । हाम्रो सीमा, हाम्रो भाषा, हाम्रो इतिहास, अर्थतन्त्र र जनता–जनता बीचको सम्बन्ध छ । यो जुन परिस्थिति छ, विश्वमा कहीँ पनि देख्न सकिन्न ।’ दाहालले दुई मुलुक बीचको युनिक सम्बन्ध अनुसार नेपाल–भारत सम्बन्धलाई अघि बढाउनु पर्ने बताए । उनले बाँकी देशहरुसँग पनि मित्रतापूर्वक सम्बन्ध गर्ने बताए ।
दाहाललाई एबीपी न्युजका पत्रकारले विदेश सञ्चार माध्यममा आएजस्तो यो ‘प्रो–चाइनिज’ सरकार हो वा होइन भन्ने प्रश्न गरेका थिए । दाहालले भने,‘विदेशी सञ्चार माध्याममा आएको जस्तो यो प्रो–चाइना सरकार होइन, त्यो गलत कुरा हो । वर्तमान समयमा नेपालको राजनीति जुन हिसाबबाट अघि बढिरहेको छ, अब यहाँ कोही प्रो–इन्डियन, प्रो–चाइना, प्रो–अमेरिका कुरा छैन । सबैका साथ मिलेर काम गछौं । र, यो हामी व्यवहारमा गरेर देखाउँछौं ।’



