अर्थ व्यापारतनहुँमा २८ करोडको सुन्तला उत्पादन

तनहुँमा २८ करोडको सुन्तला उत्पादन

तनहुँ- तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए ।

अघिल्लो वर्ष रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

म्याग्दे–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आएका छन् । देवघाटा–३ छिपछिपेका भीम रानाले यसवर्ष रु ३२ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । व्यास–१३ बेनीकोटका विकास थापाले यसवर्ष रु आठ लाखको सुन्तला बिक्री गरेका छन् ।

आँबुखैरेनी–२ मार्कीचोकका सोलबहादुर चितौरेले यसवर्ष रु तीन लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img