आज तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व । ‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । जस्तै मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुंसुर गरी १२ वटा वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजकका रूपमा समेत लिने गरिन्छ ।
नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरूङ, मगर, थकालीलगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । जाति नै पिच्छेका फरक–फरक संस्कृति र प्रचलनले ल्होसार पर्वको महत्व झन बढाएको छ । ल्होसार पर्वको सम्बन्ध मूलतः पुरानो साललाई बिदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । सोनाम ल्होसार आउन करिब एक महिना अगाडिदेखि नै तयारीका कार्यहरू प्रारम्भ गर्ने गरिन्छ । बाटाघाटा, घर–आँगन, चौतारा, मन्दिर, गुम्बा, चैत्य, विहार आदिको सरसफाइ तथा बत्ती, ध्वजा–पताका, खानपान एवं साँस्कृतिक कार्यक्रम आदिको व्यवस्थापनमा ध्यान दिइन्छ ।
सोनाम ल्होसारमा तामाङ समुदायमा हर्षाेल्लास छाउने गर्दछ । आजको दिनमा उक्त समुदायले ठूलो उत्सवको रूपमा मनाउने प्रचलन छ । ल्होसारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टिकाटालो र परस्पर सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै तहअनुसार आर्शीवचन लिने–दिने अनि शुभकामना आदान–प्रदान समेत गर्ने गरिन्छ । त्यस अवसरमा विभिन्न खानाका परिकार बनाउने, नाचगान गरी रमाइलो गर्ने परम्परा पनि रहेको छ । पछिल्लो समय महोत्सवको आयोजना गरेर तामाङ जातिको खाना, भेषभुषा, काल, संस्कृतिलगायत प्रदर्शन गर्ने प्रचलन समेत छ ।
वास्तवमा नेपाल विविधताले भरिपूर्ण राष्ट्र हो । शताब्दियांैदेखि विश्वका विविध उद्देश्यका नागरिकलाई नेपालले सधैं आकर्षित गरिरहेको छ । विभिन्न जातजातिका कला संस्कृति, भेषभुषा, भाषा, खानपान बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै आएका छन् । सायद नेपालमा जति चाडपर्व अरू देशहरूमा छैनन् । फेरि नेपालीहरू जुन समुदायको पर्वमा पनि सामूहिक रूपमा मनाउने प्रचलन बढ्दै जान थालेको छ । सोही कारण पनि नेपाल सरकारले सोनाम ल्होसार पर्वमा सार्वजनिक बिदा दिएको छ ।
ल्होसार पर्वहरू प्रारम्भमा जातीय पर्वका रूपमा मात्र सीमित रहेका थिए । तर यी पर्वहरू विस्तारै आम नागरिकका पर्वमा रूपान्तरण भएका छन् । ल्होसार पर्वहरू एकातिर राष्ट्रिय उत्सवका रूपमा विकसित भएकमा छन् भने अर्काेतिर नेपालीले टेकेको विश्वको कुनै पनि भूभागमा विस्तार भइरहेको छ । यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध समेत बढिरहेको छ भन्दा हुन्छ । यति मात्र होइन यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न तथा जातजातिबीच सामाजिक सद्भाव कायम गर्न भूमिका समेत खेलेका छन् । वास्तवमा नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रूपमा रहेका मौलिक संस्कृतिहरूको संरक्षण तथा सम्बद्र्धन गर्न राज्यले विशेष पहल भने लिनै पर्दछ ।



