मकवानपुर: सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयमा उपस्थित नभएकोमा दुईदिने भित्र उपस्थित हुनु भन्दै एक स्थानीय तहले सूचना नै जारी गरेको छ । शिक्षकहरूलाई २ दिने अल्टिमेटम दिदै बालबालिकाको संवैधानिक शिक्षाको अधिकार हनन नगर्न बागमती गाउँपालिका वडा नम्बर-८का अध्यक्ष ईन्द्र मणी तिमल्सिनाले अनुरोध गरेका छन् ।
आन्दोलनको कार्यक्रम फिर्ता भइसके पनि वडा भित्र सञ्चालित ५वटा सामुदायिक विद्यालयका केही शिक्षकहरू विद्यालयमा उपस्थित नभएमा गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष तिमल्सिनाले बताएका छन् ।
नेपाल सरकार सँगको मागका सन्दर्भमा आन्दोलनको स्वरुप परिवर्तन गरी २ दिन भित्र उपस्थित भई विद्यालयमा पठनपाठनमा असर नपर्ने गरी रचनात्मक विरोधका कार्यक्रम गर्न अध्यक्ष तिमल्सिनाले निर्देशन दिएका छन् ।
वडा अध्यक्ष इन्द्र मणी तिमल्सिनाले जारी गरेको सूचनामा भनिएको छ “प्रस्तुत विषयमा संघीय संसद् सचिवालयमा दर्ता गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक का सम्बन्धमा नेपाल शिक्षक महासङ्घले प्रेस विज्ञप्ति मार्फत अघि सरेका माग बारे माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित वार्ता समितिका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच मिति २०८०/०६/०५ गते सम्झौता भई आन्दोलनको कार्यक्रम फिर्ता भइसके पनि यस वडा भित्र सञ्चालित ५वटा सामुदायिक विद्यालयका केही शिक्षकहरू अझ सम्म पनि विद्यालयमा उपस्थित भई पठनपाठन कार्यमा संलग्न हुनु नभएको कुरा प्रति वडा नं. ८ को गम्भिर ध्यानाकर्षण भएको छ । बालबालिकाहरूको संविधान प्रदत्त शिक्षा पाउनु पर्ने मौलिक हक हनन् हुन पुगेकाले विद्यालयका अनुपस्थित आदरणीय शिक्षक साथीहरूलाई वडा शिक्षा समिति र स्थानिय बुद्धिजीविको बैठकले ट्रेड युनियन अन्तर्गतको अधिकार प्रयोग गरी नेपाल सरकार सँगको मागका सन्दर्भमा आन्दोलनको स्वरुप परिवर्तन गरी २ दिन भित्र उपस्थित भई विद्यालयमा पठनपाठनलाई असर नपर्ने गरी रचनात्मक विरोधका कार्यक्रम गर्नुहुन निर्देशनात्मक जानकारी गराइन्छ ।”



