काठमाडौं: नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी १३ दिनदेखी वेपत्ता छन् । शनिवार विहान ९ बजेदेखि आफ्नो क्वाटर कनकाई नगरपालिका ३, सुरुङ्गा नयाँबस्तीबाट अचानक वेपत्ता भएका उनि आज बिहिबारसम्म पनि सम्पर्कमा छैनन् ।
अधिकृत छैठौ तहका कर्मचारी ३१ बर्षिय सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले आफ्ना श्रीमानसँग अन्तिम पटक शनिवार ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताइन् । १२ बजे पुनः फोन गर्दा मोवाईल अफ रहेको पाएको श्रीमती बज्रुनाले बताइन् । सुरुमा मोवाईलको चार्ज सकिएर अफ भएको ठानेको भए पनि वेलुकी ५ बजेसम्मपनि सम्पर्क नभएपछि भने टेलिकममा सम्पर्क राख्दा कुनै सम्पर्क नभएको उनको भनाइ छ ।
बिराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी आफुभने टेलिकमले उपलब्ध गराएको क्वाटरमा रहदै आएका थिए । टेलिकमको कार्यालयदेखि उनको डेरा ५ सय मिटर नजिक्कै रहेको छ । सुवेदी गत फागुन महिनामा मात्रै बिवाह बन्धनमा बाधिएको बताइएको छ । आफ्नो श्रीमान यसरी एकाएक वेपत्ता हुनुपर्ने कुनै कारण नरहेको श्रीमतीले बताएकी छन् ।
सुवेदी एकाएक हराएपछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कोठामा चाबी लगाएको र पिएको पानीको ग्लास समेत ओछ्यानमै रहेको तथा मोवाईल बोकेर गएको स्कुटीको चाबी मोवाइलको चार्जर र पर्स कोठामै छाडेको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताए ।
गत फागुन महिनादेखि सुरुङ्गा टेलिकम साखामा कार्यरक्त सुवेदी वेपक्ता भएपछि प्रहरी र परिवारमा खबर गरिएको र परिवार समेत लागेर उनका खोजी कार्य जारी रहेको सुरुङ्गा टेलिकमका प्राविधिक कर्मचारी तिलचन ओडारीले बताए ।