राजनीतिइटहरी आएर कार्यकर्तालाई रवि लामिछानेले भने – तपाईँको सभापतिले ठगेको छैन

इटहरी आएर कार्यकर्तालाई रवि लामिछानेले भने – तपाईँको सभापतिले ठगेको छैन

इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हालै इटहरीमा आयोजित पार्टीको कोशी प्रदेश समितिको विस्तारित बैठकमा आफ्नो बचाउमा स्पष्ट वक्तव्य दिएका छन्। लामिछानेले आफूमाथि लागेको ठगीको आरोपलाई अस्वीकार गर्दै, आफूले कुनै पनि अनियमित काम नगरेको ठोकुवा गरेका छन्।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो राजनीतिक यात्रा र व्यक्तिगत निष्ठाको बारेमा उल्लेख गर्दै भने, “म दुईपटकसम्म गृहमन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेको व्यक्ति हुँ। अनुसन्धान सम्बन्धी सामान्य ज्ञान मसँग पनि छ, र यदि मैले कुनै गल्ती गरेको भए, म पनि अनुसन्धानको दायरामा आउने थिएँ। तर मैले कुनै गल्ती गरेको छैन, त्यसैले म माथि कुनै कानुनी कारवाही भएको छैन।”

उनले यस बैठकमा रास्वपाका समर्थकहरूलाई ढाडस दिँदै भने कि कुनै पनि शुभचिन्तकले शिर ननिहुराउनु पर्ने अवस्था छैन। “रास्वपाको क्रेज सकियो, यो पार्टीको पनि अब काम छैन भनेर विभिन्न अफवाह फैलाइएका छन्, तर वास्तविकता त्यस्तो छैन,” लामिछानेले आफ्नो धारणा राखे।

लामिछानेले आगामी २०८४ सालको आम निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि कटिबद्ध भएर काम गर्न कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। उनले पार्टीको नेतृत्वलाई बलियो बनाउन र जनताको विश्वास जित्न निरन्तर लागिपर्न आग्रह गरेका छन्।

बैठकमा कोशी प्रदेशका विभिन्न स्थानीय तहबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभापति लामिछानेले ती प्रतिनिधिहरूसँग खुला अन्तरक्रिया गर्दै उनीहरूका जिज्ञासाहरूको जवाफ दिए। यस अन्तरक्रिया कार्यक्रममा रास्वपाका उपाध्यक्ष डिपी अर्याल, सांसद निशा डाँगी, र कोशी प्रदेशका महामन्त्री लालविक्रम थापालगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।

लालविक्रम थापाको सहजीकरणमा सम्पन्न उक्त बैठकले रास्वपाको आगामी रणनीति र योजनाहरूमा गम्भीर छलफल गरेको थियो। पार्टीले आफ्नो सुदृढीकरण र जनाधारलाई अझ व्यापक बनाउनका लागि आगामी दिनहरूमा थप क्रियाशीलता देखाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img