काठमाडौं | प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सुरु गरिएका भ्रष्टाचार छानबिनहरू अवरुद्ध पारिएको भन्दै सरकारलाई कडा प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारले ठूला भ्रष्टाचार काण्डहरूको अनुसन्धान रोक्न खोजेको आरोप लगाए। उनले प्रधानमन्त्रीकै अभिव्यक्तिलाई उद्धृत गर्दै भने, “प्रचण्ड र रविवालाको सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्यो” भन्दै अहिले अनुसन्धान रोक्ने योजनामा सरकारले काम गरिरहेको बताए।
उनले त्रिभुवन विश्वविद्यालयको जग्गा प्रकरण, ललिता निवास जग्गा फिर्ती प्रक्रिया, भुटानी शरणार्थी काण्डलगायतका मुद्दा निष्पक्ष रूपमा अघि नबढाएको गुनासो गरे। “जनतालाई स्पष्ट थियो, अब यी मुद्दाहरू खोजिने छैनन्, छानबिन रोकिने छ, अपराधीहरू जोगिनेछन्,” उनले भने।
प्रचण्डले पछिल्ला सात महिनामा सरकारले जनताको कुनै पनि आवाज नसुनेको आरोप लगाए। उनले भने, “सरकारले जनताको मनमा बस्ने एउटा पनि काम गरेन, तर बिझाउने सयौं काम गर्यो। मेरो नेतृत्वको सरकारले भीआईपी कल्चर भत्काउँदै सुशासनको जग बसाउने काम गरिरहेको थियो, जुन कांग्रेस-एमाले गठबन्धनका लागि सबैभन्दा ठूलो डर बन्यो।”
उनले सरकारी जग्गा हिनामिना, अनाथालयका सम्पत्तिको दुरुपयोग, सेन्चुरी बैंकको अर्बौं ऋण प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा छानबिन किन रोकिएको भनेर सरकारलाई चुनौती दिए। “उत्तर म नै दिन्छु – सबै मिलाइयो, चोख्याइयो, अपराधीलाई जोगाइयो,” प्रचण्डले भने।
सत्तारूढ दलका सांसदहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने, “तपाईंहरूको समर्थन यो सरकारले अपराधी धुने डिटर्जेन्ट बनाएको छ। अपराधीलाई चोख्याउने सुनपानी बनाएको छ।”
उनले सरकार स्टक एक्सचेन्जको लाइसेन्स दिन गैरकानुनी बाटो खोज्दै गरेको आरोप लगाए। “दूरसञ्चार फ्रिक्वेन्सीजस्तै स्टक एक्सचेन्ज लाइसेन्सलाई पनि प्रतिस्पर्धामार्फत दिनुपर्छ, कमिसनको खेलबाट होइन,” उनले जोड दिए।
प्रचण्डको आक्रामक टिप्पणीपछि बैठकमा सत्तापक्षका सांसदहरूले आपत्ति जनाएका थिए भने प्रतिपक्षीले समर्थन गर्दै सरकारलाई भ्रष्टाचार छानबिन अघि बढाउन चेतावनी दिएको थियो।



