हेटौंडा | पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा परी मनहरी गाउँपालिका–६, खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको ज्यान गएको हो।
शुक्रबार साँझ करिब ८ बजे चितवनतर्फ गइरहेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
घटनामा तीन जना घाइते भएका थिए। घाइतेमध्ये बम्जनलाई उपचारका लागि थानाभर्याङस्थित सिएमसी चुरेहिल अस्पताल पुर्याइए पनि राति नै उनको मृत्यु भएको हो।
दुर्घटनामा बम्जनका ११ वर्षीय छोरा अमृत बम्जन र अटो चालक हेटौंडा–१९, बासघारीका २५ वर्षीय राजु थिङ घाइते भएका छन्। प्रहरीका अनुसार अटो चालकको अवस्था गम्भीर छ भने अमृत सामान्य घाइते भएका छन्।
ट्रक चालक चितवन राप्ती नगरपालिका–२, पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



