हेटौँडा | श्रावण शुक्ल पञ्चमीका दिन आज देशभर नाग पञ्चमी पर्व धार्मिक श्रद्धा र परम्पराअनुसार मनाइँदैछ। बिहानैदेखि घरका मूलढोकामा नागको तस्बिर टाँसिने, पूजा–अर्चना गरिने र विशेष प्रसाद चढाइने कार्य भइरहेको छ।
धार्मिक मान्यताअनुसार नागको पूजा गरेमा वर्षभर नाग, सर्प, बिच्छी जस्ता जीवको त्रास हट्ने विश्वास छ। साथै अग्नि, मेघ, चट्याङजस्ता प्राकृतिक आपत्बाट पनि रक्षा हुने विश्वास गरिन्छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै आरम्भ भएको मानिन्छ। वैदिक मान्यताअनुसार नाग सर्पराजा हुन्। पानीका स्रोतसँग नागको सम्बन्ध रहेको मानिने हुँदा, वर्षा अनुकूल होस् भन्ने कामनासहित नागको पूजाआजा गरिने परम्परा बसालिएको हो। वराहपुराणमा उल्लेख भएअनुसार ब्रह्मा र नागराजबीच श्रावण शुक्ल पञ्चमीमा संवाद भएकोले यो दिन नाग पूजाका लागि विशेष मानिन्छ।
नागलाई भगवान् विष्णु र शिवसँग जोडिएको मानिन्छ। भगवान् शिवले नागको माला लगाउने विश्वास छ भने भगवान् विष्णु शेषनागको शय्यामा विश्राम गर्ने गरिन्छ। यस्तै, गणेशको हातमा नाग हुने, श्रीरामका भाई लक्ष्मण र श्रीकृष्णका दाजु बलराम शेषनागका अवतार भएको मानिन्छ। बालकृष्णले कालीनागको दमन गरेको पुराणहरूमा वर्णन गरिएको छ। बुद्ध मूर्तिमा पनि सर्पमुकुट देखिन्छ, भने मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला हुने उल्लेख छ।
नाग पञ्चमी मनाउने परम्परा पछाडि एउटा चर्चित किम्बदन्ती प्रचलित छ। जसअनुसार एक किसानले नागका बच्चा मारेपछि नागिनी रिसाइन् र किसान परिवारलाई मारेकी थिइन्। तर, किसानकी छोरीले नागिनीलाई पूजा–अर्चना गरी दूध चढाएकी थिइन्। भक्तिमा प्रसन्न भएर नागिनीले सबै मरेका सदस्यहरूलाई पुनर्जीवन दिएकी थिइन्। त्यही दिन श्रावण शुक्ल पञ्चमी भएकाले नाग पञ्चमीको परम्परा सुरु भएको जनविश्वास छ।
धर्मशास्त्रमा गुरु गोरखनाथले नौ नाग थिचेर तपस्या गरेपछि पानी नपरेको र गुरु मत्स्येन्द्रनाथ आउँदा गोरखनाथ उठेपछि वर्षा भएको प्रसङ्ग पनि उल्लेख छ। नाग शिरमा धारण गर्ने ‘मणि’ संसारको सबैभन्दा मूल्यवान् वस्तु हो भन्ने विश्वास छ।
काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह र कुण्डहरूमा आज विशेष पूजाआजा हुँदैछ। गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार नागलाई चढाउने चलन छ।
वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि नाग–सर्पले प्रकृतिमा विषालु पदार्थको शोषण गर्ने र मानिस तथा जीवजन्तुमा यसको असर कम गर्ने भएकाले ऋषिमुनिले नागजातिको पूजा गर्ने परम्परा बसालेको विश्वास गरिन्छ।



