हेटौँडा | मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन थप सक्रिय बन्दै गएको जनाउँदै आगामी तीन दिनसम्म विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने चेतावनी दिएको छ। शुक्रबार साँझ सार्वजनिक बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहँदा हाल देशभर सामान्यदेखि पूर्ण बदलीसँगै वर्षा भइरहेको छ।
शुक्रबार साँझसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भैरहेको छ भने कर्णालीका केही स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ। पहाडी क्षेत्रका विभिन्न स्थानमा चट्याङ्ग र मेघगर्जनसहित वर्षा भइरहेकोले स्थानीय बाढी, पहिरो र सडक अबरुद्ध हुने जोखिम बढेको छ।
श्रावण १७ शनिबार दिउँसोदेखि रातिसम्म वर्षा अझ तीव्र हुने अनुमान छ। गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिमका पहाडी–हिमाली क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। तराईमा पनि वर्षा बढ्दै जाने भएकाले केही स्थानमा जलमग्न र यातायात अवरुद्ध हुने अवस्था आउन सक्ने चेतावनी महाशाखाले दिएको छ। रातिसम्म गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा बढी हुने अनुमान गरिएको छ।
श्रावण १८ आइतबार पनि मनसुन सक्रिय रहनेछ। कोशी, गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा हुनेछ। विशेष गरी तराईका क्षेत्रमा वर्षा निरन्तर हुने भएकाले बाढीको खतरा थपिन सक्नेछ। कर्णालीका पहाड तथा हिमाली क्षेत्रमा समेत निरन्तर पानी पर्ने सम्भावना छ।
महाशाखाले बागमती प्रदेशको पहाडी भूभागमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पहिरो, सडक अवरुद्ध र नदी–नाला बढ्ने जोखिमका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मधेश प्रदेशमा पनि मनसुन थप सक्रिय हुने भएकाले जलमग्न र यातायात अवरुद्ध हुन सक्ने सम्भावना रहेको चेतावनी दिइएको छ।
सर्वसाधारणलाई पछिल्लो मौसमी सूचना निरन्तर लिन, अनावश्यक यात्रामा सतर्क रहन र विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कतामा रहन महाशाखाले अनुरोध गरेको छ।



