टोकियो | जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिनादेखि दुई दशमलव पाँच प्रतिशतमै स्थिर रहेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमै यथावत् छ।
रोजगारीमा रहेका व्यक्तिहरुको संख्या भने शून्य दशमलव एक प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको छ। बेरोजगारमध्ये करिब ८ लाखले स्वेच्छाले जागिर छाडेका छन्, जुन अघिल्लो महिनाको तुलनामा करिब ९ दशमलव ६ प्रतिशतले बढेको हो। त्यस्तै, कम्पनीबाट हटाइएका व्यक्तिको संख्या घटेर ३ लाख ५० हजार पुगेको छ, जुन करिब १४ दशमलव ६ प्रतिशतले कमी भएको हो।
स्वास्थ्य, श्रम तथा जनकल्याण मन्त्रालयको छुट्टै विवरणअनुसार रोजगारीको उपलब्धता दर शून्य दशमलव शून्य दुई अंकले घट्दै एक दशमलव बाइस मा पुगेको छ। यसले प्रत्येक एक सय रोजगारी खोज्ने व्यक्तिका लागि एक सय बाइस रोजगारीका अवसर उपलब्ध रहेको देखाएको छ।
सरकारी अधिकारीका अनुसार केही कम्पनीहरूले अमेरिकी प्रशासनले लगाएका नयाँ भन्सार शुल्कको प्रभाव अझै स्पष्ट नभएकाले नयाँ कर्मचारी भर्नामा संकोच देखाइरहेका छन्।



