फिचरचेपाङ बस्ती पर्यटन हब बनाउने योजना : मन्त्री श्रेष्ठ

चेपाङ बस्ती पर्यटन हब बनाउने योजना : मन्त्री श्रेष्ठ

हेटौँडा  |  चेपाङ समुदायको मौलिक पर्व ‘न्वागी’  आईतबार चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा विशेष सांस्कृतिक कार्यक्रमसहित  मनाईएको छ । नेपाल चेपाङ सङ्घको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना अघि सारे।

“यो बस्तीलाई पर्यटन क्षेत्रको रूपमा अघि बढाउन संस्कृति पर्यटन मन्त्रालय निरन्तर लागिरहनेछ,” मन्त्री श्रेष्ठले भने, “हामीले नै आफ्नो भाषा, भेष र संस्कार जोगाउन सकेनौं भने अस्तित्व संकट पर्छ।”

श्रेष्ठले पहिलोपटक न्वागी पर्वमा सहभागी भएको अनुभव सुनाउँदै चेपाङ समुदायको संस्कृति र भाषाको संरक्षणलाई आफ्नो प्राथमिकता बनाउने घोषणा गरे। उनले प्रदेश सरकारले चेपाङ संस्कृति विश्वसामु चिनाउन डकुमेन्ट्री निर्माण गरिरहेको जानकारी पनि दिए।

उनका अनुसार चेपाङ भाषाबारे गरिएको अध्ययनले चेपाङ समुदायका करिब ५० प्रतिशतले मात्रै भाषा बुझ्ने तथ्य देखाएको छ। “जम्मा जनसंख्या ८४ हजार छ। अब हामीले नै यसलाई जोगाउन सकेनौं भने अर्को पुस्ताले यो भाषा र संस्कृति पाउने छैन,” उनले भने।

संस्कृति पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले पनि न्वागी पर्वलाई राष्ट्रिय सम्पदा भनेर व्याख्या गर्दै डकुमेन्ट्री निर्माण भइरहेको बताए। “चेपाङ भाषा, लिपि र संस्कृतिको संरक्षणमा मन्त्रालय निरन्तर सक्रिय छ,” सुवेदीले भने, “चेपाङ बस्तीलाई होमस्टे र सम्पदा अवलोकनमार्फत पर्यटन हब बनाउने योजना अघि बढाइरहेका छौं।”

प्रदेश सरकारले गत भदौ २२ गते धादिङ, मकवानपुर र चितवनमा सार्वजनिक बिदा दिने निर्णयलाई सुवेदीले समुदायप्रतिको सम्मानका रूपमा प्रस्तुत गरे।

नेपाल चेपाङ सङ्घका अध्यक्ष गोबिन्द चेपाङले न्वागी पर्वलाई सांस्कृतिक पहिचानसँग जोडिएको ‘लडाइँ’का रूपमा चित्रण गरे। “यो केवल पर्व होइन, हाम्रो अस्तित्वको पहिचान हो,” उनले भने, “हिजो बेलुका दीप प्रज्ज्वलन गर्दा हरेक घरमा मेणबत्ती बलेको देख्दा हामी जितको अनुभूति गरेका छौं।”

उनले नयाँ पुस्ताले पनि न्वागीलाई आफ्नै सांस्कृतिक पर्वका रूपमा आत्मसात गरेकोमा उत्साह प्रकट गरे। नेपालका ६ जिल्लामा बसोबास गर्दै आएका चेपाङ समुदायले पालैपालो न्वागी पर्व विशेष रुपमा मनाउँदै आएका छन् । अध्यक्ष गोबिन्द चेपाङका अनुसार अघिल्लो वर्ष धादिङमा आयोजना भएको न्वागी पर्व यस वर्ष चितवनमा सम्पन्न भएको हो भने अर्को वर्ष मकवानपुरको राक्सिराङमा आयोजना गरिनेछ।

चेपाङ समुदायमा पितृलाई पूजा नगरी नयाँ फलफूल वा अन्नपात खान नहुने धार्मिक मान्यता छ। न्वागीको दिन घैया धान, काउनो, पिँडालु जस्ता अन्नपात र फलफूल भूमिमा अर्पण गर्ने, ढ्याङ्ग्रो बजाउँदै कुखुरा बलि दिने, नातागोता भेला भई भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने चलन यस पर्वको विशेषता हो।

गोबिन्द चेपाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव सन्तबहादुर चेपाङलगायत केन्द्रीय सदस्य, स्थानीय प्रतिनिधि र समुदायको उल्लेख्य सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img