काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनको शपथग्रहण आज बेलुकी ९ बजे शीतलनिवासमा हुने भएको छ ।
शुक्रबार दिनभर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने र त्यसपछिको अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिने सहमति जुटेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल सुरुवाती चरणमा प्रतिनिधिसभा विघटनअघि अन्तरिम सरकार गठन गर्न नहुने अडानमा रहे पनि अन्ततः पछि हटेका छन् । शीतलनिवाससम्बद्ध स्रोतका अनुसार, आन्दोलनकारी युवाहरुले तत्काल शीतलनिवास घेर्ने चेतावनी दिएपछि पौडेलले प्रमुख दलका नेताहरूसँग सल्लाह गरी प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन एकैपटक गर्ने निर्णयमा पुगेका हुन् ।
अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा र पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्रको मस्यौदा तयार पार्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ ।
यसअघि २०७३ सालमा नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी सुशिला कार्कीले स्वतन्त्र र निष्पक्ष भूमिकाका कारण पहिचान बनाएकी थिइन् । अब उनले देशको राजनीतिक सङ्कट व्यवस्थापन गर्ने जिम्मेवारी पाएकी छन् ।



