देशबागमती प्रदेशमकवानपुरका मतदान स्थलको अनुगमनमा गृहमन्त्री

मकवानपुरका मतदान स्थलको अनुगमनमा गृहमन्त्री

हेटौँडा | गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।

शनिबार मकवानपुरका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गरे। उनले नागरिकको सक्रिय सहभागिता बिना निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव नहुने भन्दै आम मतदातालाई जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न आग्रह गरे।

सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलाइने गलत, मिथ्या र दुष्प्रचारजन्य सूचनाप्रति सचेत रहन आग्रह गर्दै यस्ता भ्रमबाट प्रभावित नहुन सबै पक्षलाई अनुरोध गरे। ‘भ्रामक सूचनाले चुनावी वातावरण बिगार्न सक्छ,’ उनले भने।

निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनको अनुगमनमा गृहमन्त्री अर्यालसँगै गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता आनन्द काफ्ले, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं प्रहरी प्रमुख (एसएसपी) रमेश थापा लगायत उच्च पदाधिकारी सहभागी थिए।

मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङस्थित सेतीदेवी माध्यमिक विद्यालयको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको थियो। साथै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ स्थित मतदान केन्द्रको समेत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग निर्वाचन सुरक्षा र व्यवस्थापनबारे छलफल भएको थियो।

यस क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको उपस्थिति रहेको थियो। मन्त्री अर्यालले इन्द्रसरोवर क्षेत्रको प्रहरी चौकीसमेत निरीक्षण गर्दै जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

मकवानपुर र काठमाडौँ जिल्लाका सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले सीमा आसपासका क्षेत्रको सुरक्षा अवस्था, मतदान केन्द्रको सुरक्षा व्यवस्था र सुरक्षाकर्मी परिचालनबारे ब्रिफिङ लिँदै आवश्यक निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img