बागमती प्रदेशमकवानपुरमकवानपुरमा आजदेखि सरसफाइ सप्ताह, सरकारी कार्यालय र बजारमा संयुक्त अनुगमन हुने

मकवानपुरमा आजदेखि सरसफाइ सप्ताह, सरकारी कार्यालय र बजारमा संयुक्त अनुगमन हुने

सरकारी कार्यालय ५१ सूचकबाट मूल्यांकन गरिने, होटल–पसलमा मूल्य सूची अनिवार्य

हेटौँडा । मकवानपुर प्रशासनले आज सोमबारदेखि जिल्लाभरका सरकारी कार्यालय र व्यवसायिक प्रतिष्ठानलाई लक्षित गर्दै सरसफाइ तथा उपभोक्तामैत्री सेवा अभियान सुरु गर्ने भएको छ । ‘राष्ट्रिय सरसफाइ सप्ताह–२०८३’ अन्तर्गत सरकारी कार्यालयको ५१ सूचकका आधारमा अनुगमन गरिनुका साथै होटल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यवसायिक प्रतिष्ठानमा मूल्य सूची अनिवार्य रूपमा राखिएको छ वा छैन भन्ने विषयमा पनि विशेष निगरानी थालिने भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार एक सातासम्म बजार अनुगमन सञ्चालन गरी होटल, चिया पसल, किराना पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक प्रतिष्ठानमा स्पष्ट मूल्य सूची टाँसिएको छ कि छैन भन्ने हेरिनेछ । “होटल, प्रतीक्षालय, रेस्टुरेन्ट र व्यापारीहरूले मूल्य सूची राखेको छ कि छैन भन्ने विषयमा आजबाटै अनुगमन सुरु हुन्छ,” उनले बताए । प्रशासनले मूल्य सूची नराख्ने तथा उपभोक्तालाई भ्रममा पार्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ ।

प्रशासनका अनुसार उपभोक्ताले वस्तु तथा सेवाको मूल्यबारे स्पष्ट जानकारी नपाउँदा बजारमा मनपरी शुल्क लिने र उपभोक्ता ठगिने गुनासो बढेपछि अभियान सुरु गरिएको हो । नेपाल सरकारले मूल्य सूची अनिवार्य राख्नुपर्ने सम्बन्धी कार्यविधि तयार गरिसकेको उल्लेख गर्दै उनले मकवानपुरमा त्यसको प्रभावकारी कार्यान्वयन गरिने बताए ।

यसैबीच, आज सोमबारदेखि १ जेठसम्म सञ्चालन हुने राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत मकवानपुरका सबै सरकारी कार्यालयमा बिहान साढे ८ बजेदेखि सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारी कार्यालयलाई ५१ वटा सूचकका आधारमा मूल्यांकन गरी ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकरण गरिनेछ । मूल्यांकनमा कार्यालय सरसफाइ, ट्वाइलेट व्यवस्थापन, स्वच्छ खानेपानी, हेल्प डेस्क, सेवाग्राहीसँगको व्यवहार, फोहर व्यवस्थापन तथा बिचौलियाको प्रवेश नियन्त्रणजस्ता विषय समावेश गरिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन–२०८३’ अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकाय तथा अस्पतालमा एकसाथ अभियान सञ्चालन गरिनेछ । मार्गनिर्देशनमा कार्यालय सरसफाइ, शौचालय तथा स्वच्छता, सार्वजनिकस्थलको सफाइ, क्यान्टिन तथा भान्साघरको स्वच्छता, फोहर व्यवस्थापन र सेवाग्राही अनुभव सुधारसम्बन्धी सूचक अनिवार्य कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

सरसफाइ सप्ताह केवल बाहिरी सफाइको कार्यक्रम नभई सरकारी कार्यालयभित्रको समग्र सेवा वातावरण सुधार गर्ने अभियान भएको प्रजिअ बसन्त अधिकारी बताए । “सेवाग्राही आउने कार्यालयमा ट्वाइलेट फोहोर हुनुहुँदैन । कार्यालय प्रमुख आफैंले ट्वाइलेटको अवस्था हेर्नुपर्छ,” उनले भने, “कार्यालयमा स्वच्छ खानेपानी, व्यवस्थित प्रतीक्षालय, हेल्प डेस्क र नागरिकमैत्री वातावरण हुनुपर्छ ।”

सीडीओ अधिकारीका अनुसार जिल्लाका सरकारी कार्यालयमा ‘इम्प्लोई अफ द मन्थ’ कार्यक्रम पनि सञ्चालन गरिनेछ । सेवाग्राहीसँगको व्यवहार, इमान्दारिता र सेवा प्रवाहका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरी कार्यालयको हेल्प डेस्कमा तस्वीर राखिने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले सरकारी कर्मचारी अझै पनि ‘शासकीय मानसिकता’ बाट पूर्ण रूपमा बाहिर ननिस्किएको टिप्पणी गर्दै सेवा प्रवाहमा व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभयो । “हामी शासक होइनौं, जनताका सेवक हौं,” उहाँले भन्नुभयो, “जनताको मुहारमा खुसी दिन सक्यौं भने त्यो नै सबैभन्दा ठूलो सेवा हो ।”

सीडीओ अधिकारीले सेवाग्राहीलाई पनि आवश्यक कागजात र प्रक्रिया बुझेर कार्यालय आउन आग्रह गर्दै कर्मचारीबाट अनावश्यक दुःख, अतिरिक्त लाभ माग्ने वा झन्झट सिर्जना गर्ने काम भए सम्बन्धित कार्यालय प्रमुख वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img