हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा मकवानपुर जिल्लाले अघिल्लो वर्षको तुलनामा केही सुधार गरेको देखिए पनि समग्र नतिजा अझै राष्ट्रिय औसतभन्दा कमजोर देखिएको छ । जिल्लाका कुल परीक्षार्थीमध्ये आधाभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन् भने चार विद्यालयको नतिजा पूर्ण रूपमा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार जिल्लाबाट एसईई परीक्षामा सहभागी पाँच हजार पाँच सय २७ विद्यार्थीमध्ये दुई हजार आठ सय १८ जना अर्थात् ५० दशमलव ९९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने दुई हजार सात सय ९ जना अर्थात् ४९ दशमलव ०१ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् ।
गत वर्ष मकवानपुरको ग्रेडेड प्रतिशत ४६ दशमलव ८६ रहेको थियो । यस आधारमा यस वर्ष करिब चार प्रतिशतले सुधार देखिएको छ । तर राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर करिब ६१ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । यस हिसाबले मकवानपुर राष्ट्रिय औसतभन्दा अझै पछाडि रहेको देखिन्छ । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीले समग्रमा नतिजा सुधार भए पनि प्रदेश र राष्ट्रिय औसतको तुलनामा मकवानपुरको नतिजा अझै कमजोर रहेको बताए । शून्य नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेर सुधार योजना बनाइने जानकारी दिए ।
यस वर्ष पनि जिल्लाका केही विद्यालयको अवस्था अत्यन्त कमजोर देखिएको छ । राक्सिराङ गाउँपालिकाका तीन र भीमफेदी गाउँपालिकाको एक विद्यालय गरी चार विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार राक्सिराङ गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय, राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, राक्सिराङ–८ स्थित माध्यमिक विद्यालय देवीटार तथा भीमफेदी गाउँपालिका–८ स्थित पञ्चकन्या माध्यमिक विद्यालयबाट सहभागी कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन् । गत वर्ष जिल्लाका सात विद्यालयको नतिजा शून्य आएको थियो । यस वर्ष संख्या घटे पनि दुर्गम क्षेत्रका विद्यालयमा देखिएको कमजोर नतिजाले सामुदायिक शिक्षाको अवस्था अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ ।
ग्रामीण विद्यालयमा शिक्षक अभाव र कमजोर सिकाइ वातावरण
राक्सिराङ गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक सुजन कुमार मुक्तानले विद्यालयको कमजोर नतिजा अपेक्षित नै रहेको प्रतिक्रिया दिए । विद्यालयमा विद्यार्थी संख्या न्यून हुनु, शिक्षक दरबन्दी अभाव, सिकाइ वातावरण कमजोर हुनु र अभिभावकको पर्याप्त निगरानी नहुनु प्रमुख समस्या रहेको बताए । ग्रामीण परिवेश, मोबाइलको दुरुपयोग र विद्यार्थीको अध्ययनप्रतिको कमजोर रुचाले पनि नतिजामा असर गरेको बताए । “जिम्मेवार सबै पक्ष छन्, विद्यालयले पनि आत्मसमीक्षा गर्नुपर्छ,” उनले भने ।
विद्यालयमा यस वर्ष एसईई दिने एक जना मात्रै विद्यार्थी रहेकामा उनी पनि ग्रेडेड हुन सकेनन् । विद्यार्थी संख्या न्यून भएपछि गाउँपालिकाले विद्यालयको तहसमेत घटाइसकेको उनले बताए । अघिल्लो वर्ष पनि विद्यालयको नतिजा शून्य रहेको थियो ।
कमजोर नतिजाबीच केही विद्यालयले भने उत्कृष्ट सफलता हासिल गरेका छन् । मकवानपुरगढी गाउँपालिका अन्तर्गतको शारदा माध्यमिक विद्यालयले गत वर्ष शतप्रतिशत नतिजा ल्याएको थियो । यस वर्ष भने विद्यालयले अपेक्षाअनुसार नतिजा ल्याउन सकेन । विद्यालयका २७ विद्यार्थीमध्ये १८ जना मात्रै ग्रेडेड भएका छन् । विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीले विद्यार्थीहरूको समग्र जीपीए राम्रो भए पनि कम्प्युटर विषयमा अनपेक्षित रूपमा धेरै विद्यार्थी ननग्रेडेड भएको बताए । विद्यालयले नियमित टेस्ट परीक्षा, अतिरिक्त अभ्यास र फिडब्याक प्रणाली सञ्चालन गरे पनि नतिजा अपेक्षाअनुसार नआएको भन्दै पुनर्योग तथा रिटोटलिङको तयारी भइरहेको जानकारी दिए ।
कम्प्युटर विषयमा अनपेक्षित ननग्रेडेड
प्रधानाध्यापक कार्कीका अनुसार विद्यार्थी स्वयंले पनि परीक्षा सजिलो भएको प्रतिक्रिया दिएका थिए । “गणित र विज्ञानजस्ता विषयमा विद्यार्थी पास भए, तर कम्प्युटरमा समस्या आयो । यो विषयमा हामीलाई आश्चर्य लागेको छ,” उनले भने । कपी परीक्षण प्रक्रियामै समस्या भएको हुनसक्ने आशंका व्यक्त गर्दै पुनः परीक्षणको व्यवस्था हुनुपर्ने बताए । आगामी वर्ष अझ राम्रो नतिजा ल्याउन विद्यालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।
यस वर्ष मकवानपुरबाट सात छात्रा र छ छात्र गरी १३ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्ष पाँच जनाले मात्रै ४ जीपीए ल्याएका थिए । यसले जिल्लामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको देखाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार चार जीपीए ल्याउने विद्यार्थीहरू दुई सामुदायिक विद्यालयसहित सात विद्यालयका रहेका छन् । यस वर्ष ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या चार सय ३६ रहेको छ भने ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने विद्यार्थी सात सय ८९ जना रहेका छन् ।
अतिरिक्त कक्षा र समन्वयले केही विद्यालयमा उत्कृष्ट नतिजा
हेटौँडा–१० स्थित तुलसीमेहर माध्यमिक विद्यालयले भने यस वर्ष शतप्रतिशत नतिजा ल्याएको छ । विद्यालयका ६१ विद्यार्थीमध्ये सबै विद्यार्थी ग्रेडेड भएका छन् । विद्यालयका प्रधानाध्यापक टिका प्रसादले शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापनबीचको समन्वय, नियमित अतिरिक्त कक्षा तथा विद्यार्थीलाई निरन्तर मार्गदर्शन गरिएकाले सफलता हासिल भएको बताए । “शिक्षकहरूको मेहनत र विद्यार्थीको लगाव नै मुख्य कारण हो,” उनले भने ।
थाहा नगरपालिका–१ स्थित पालुङ भ्याली हार्ट एकेडेमीले पनि शतप्रतिशत नतिजा ल्याएको छ । विद्यालयका प्रिन्सिपल सुरेन्द्रमान प्रधानका अनुसार विद्यालयले विद्यार्थीको कमजोरी पहिचान गरी अभिभावकसँग निरन्तर समन्वय, अतिरिक्त कक्षा, सकारात्मक काउन्सिलिङ तथा सूचना प्रविधिमा आधारित निगरानी प्रणाली लागू गरेको थियो । विद्यालयले बिहान अतिरिक्त कक्षा सञ्चालन गर्नुका साथै कमजोर विद्यार्थीका लागि छुट्टै सहयोग कार्यक्रम सञ्चालन गरेको बताए । “सजायभन्दा प्रेरणा र प्रोत्साहनले विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याउँछ भन्ने अनुभव गरेका छौँ,” उनले भने ।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार यस वर्ष जिल्लाका सामुदायिक १०५ र संस्थागत ३७ गरी कुल १४२ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जिल्लामा केही विद्यालयले उत्कृष्ट नतिजा हासिल गरे पनि दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा लगातार कमजोर नतिजा आउनुले शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । शिक्षक अभाव, कमजोर पूर्वाधार, अभिभावकको कम चासो, सिकाइ वातावरणको समस्या र स्थानीय तहको प्रभावकारी हस्तक्षेप अभावजस्ता कारण सुधारको मुख्य चुनौतीका रूपमा देखिएका छन् ।



