हेटौँडा । मकवानपुरको हेटौँडामा मेयर कप फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको आयोजना तथा हेटौँडा–१३ नम्बर वडा कार्यालयको समन्वयमा पदमपोखरीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौँडा–१३ का वडाध्यक्ष पेम्बा लामाले प्रतियोगिता असार ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाबाट टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत नगदसहित सम्मान गरिने आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष अमृत लुङ्बुले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये १० लाख रुपैयाँ हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराउनेछ ।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै वडास्तरबाट नयाँ तथा प्रतिभाशाली खेलाडी पहिचान र उत्पादनमा प्रतियोगिताले महत्वपूर्ण योगदान दिने आयोजकको विश्वास छ ।



