हेटौँडा । हेटौँडामा मंगलबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अघि बढाइएको निर्वाचन कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिको नामावलीमा समस्या देखिएको भन्दै विवाद भएपछि निर्वाचन प्रक्रिया रोकिएको हो ।
मंगलबार बेलुका मतदान प्रक्रिया सुरु भई केही समय भोटिङसमेत भएको थियो । तर, प्रतिनिधि नामावलीमा विवाद देखिएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो । त्यसपछि निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि पुनः मतदान प्रक्रिया अघि बढाउने तयारी गरेको थियो ।
तर बुधबार बिहान पनि मतदान सुरु हुन सकेन । अधिवेशनस्थलमा प्रतिनिधि तथा कार्यकर्ताबीच पुनः विवाद देखिएपछि प्रहरीले कार्यक्रमस्थलबाट प्रतिनिधि र कार्यकर्तालाई बाहिर निकालेको थियो । त्यसपछि अधिवेशन नै रद्द भएको हल्ला फैलिए पनि केन्द्रीय निर्वाचन समितिले अधिवेशन रद्द नभई अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन र मतदान प्रक्रिया अघि बढाइएको थियो । प्रदेश सभापतिका लागि चार जना उम्मेदवार कायम छन् । सभापतिमा रामेछापका हरिबहादुर खत्री, नुवाकोटका डा. अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल प्रतिस्पर्धामा छन् ।
त्यस्तै, प्रदेश सदस्यतर्फ ८८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले मतदाता नामावली, समायोजन सूची र व्यवस्थापकीय विषय मिलाउन समय आवश्यक परेको जनाएको छ ।
समितिका अनुसार निर्वाचनको नयाँ मिति र समय कम्तीमा २४ घण्टा अगाडि आधिकारिक रूपमा सार्वजनिक गरिनेछ । आयोगले प्रतिनिधि, उम्मेदवार र कार्यकर्तालाई भ्रामक सूचनाको पछि नलागी आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ ।



