हेटौँडा । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग फेरि चर्चामा आएको छ । पटक–पटक सञ्चालनको घोषणा भएर पनि व्यवहारमा अघि बढ्न नसकेको उद्योग सञ्चालनका लागि यसपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै चासो देखाएपछि हेटौँडामा नयाँ आशा पलाएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योग २०५७ सालदेखि बन्द छ । कुनै समय हेटौँडाको औद्योगिक पहिचान र रोजगारीसँग प्रत्यक्ष जोडिएको यो उद्योग बन्द भएपछि यहाँको उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा समेत असर परेको थियो । तर, अहिले प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष अग्रसरता, मन्त्रीस्तरीय अनुगमन र स्थानीय तहको चासोले उद्योग पुनः सञ्चालनको सम्भावना बढाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले केही समयअघि उद्योगको अनुगमन गरेकी थिइन् । उनले प्रतिनिधिसभामा समेत हेटौँडा कपडा उद्योग यसै वर्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी छन् । मन्त्री यादवका अनुसार रुग्ण उद्योगमध्ये हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर अघि बढाउने तयारी छ ।
प्रधानमन्त्री कार्यालयबाट हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामासँग पनि उद्योग सञ्चालनबारे छलफल भएको छ । नगर प्रमुख लामाले उद्योग सञ्चालनका लागि उपमहानगरले आवश्यक सहयोग गर्न तयार रहेको बताएकी छन् । उनले उद्योग सञ्चालनमा आए हेटौँडाको रोजगारी, व्यापार र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताएकी छन् ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनका अनुसार उद्योगका धेरै मेसिन र भवन अझै पनि सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा छन् । केही मेसिनमा खिया लागेको भए पनि पूर्ण रूपमा काम नलाग्ने अवस्थामा नपुगेको बताइएको छ । भवनहरू पनि सामान्य मर्मतसम्भारपछि प्रयोग गर्न सकिने दाबी गरिएको छ ।
उद्योग परिसरमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा सरसफाइको कामसमेत सुरु गरिएको छ । वर्षौँदेखि झाडीले ढाकिएको उद्योग परिसरमा पहिलो पटक ठूलो मात्रामा सरसफाइ भइरहेको छ । भवनको माथिल्लो भागमा उम्रिएका बोटबिरुवा हटाउनेदेखि परिसर व्यवस्थित गर्ने काम भइरहेको छ ।
२०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०३५ सालदेखि सञ्चालनमा आएको थियो । उद्योग सञ्चालनमा रहँदा हेटौँडा र आसपासका धेरै नागरिकले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका थिए । कपडा उद्योगसँगै बुटवल धागो उद्योग र कपास खेतीको उत्पादन प्रणाली पनि जोडिएको थियो । कपडा उद्योग बन्द भएपछि ती क्षेत्र पनि कमजोर बन्दै गएका थिए ।
यसअघि पनि विभिन्न सरकारले हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा गरेका थिए । निजीकरणको प्रयासदेखि बजेट विनियोजन र अध्ययन समितिसम्मका काम भए पनि उद्योग सञ्चालन हुन सकेन । नेपाली सेनाले समेत उद्योग सञ्चालनको सम्भावना अध्ययन गरी सरकारलाई प्रस्ताव पेस गरेको थियो । तर, ती सबै प्रयास घोषणामै सीमित बने ।
अहिले भने प्रधानमन्त्री कार्यालयकै अग्रसरता देखिएपछि स्थानीय स्तरमा अपेक्षा बढेको छ । तर, उद्योगको स्वामित्व, जग्गा व्यवस्थापन, पुराना मेसिनको अवस्था, लगानी स्रोत र सञ्चालन मोडालिटी अझै स्पष्ट हुन बाँकी छ । उद्योगको केही जग्गा अन्य उद्योगलाई भाडामा दिइसकिएको र उद्योगको विवरण सरकारी अभिलेखबाट समेत हटिसकेको विषयले पुनः सञ्चालनमा चुनौती थपेको छ ।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आए हेटौँडाको औद्योगिक पहिचान फर्किने मात्र होइन, स्थानीय रोजगारी सिर्जना, साना व्यवसायको विस्तार र उत्पादनमूलक अर्थतन्त्रमा पनि सहयोग पुग्ने देखिन्छ ।



