मकवानपुरकैलाश गाउँपालिकाकैलाश गाउँपालिकाको बजेट ५५ करोड ८४ लाख

कैलाश गाउँपालिकाको बजेट ५५ करोड ८४ लाख

कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार बसेको १८ औँ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले अनुमानित आय–व्यय प्रस्तुत गरेका हुन् । गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

विकट भूगोल रहेको कैलाश गाउँपालिकाले आगामी वर्ष महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा लक्षित कार्यक्रम, स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र सुशासनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले यसअघि सञ्चालनमा रहेका असल अभ्यासका कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने जनाएको छ ।

नीति तथा कार्यक्रममा चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइएको छ । अध्यक्ष मुक्तानले एक घर एक धारा, पूर्ण सरसफाइ उन्मुख पालिका घोषणा, रैथाने बाली संरक्षण तथा बाँझो जमिन नराखी उत्पादन बढाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । कृषिलाई आधुनिक र व्यावसायिक बनाउने गरी नीति अघि सारिएको उनको भनाइ छ ।

स्वास्थ्यतर्फ वीपी स्मृति कैलाश आधारभूत अस्पतालमा चिकित्सक, आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन गरी आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गरिने भएको छ । ‘कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ’ अभियानलाई निरन्तरता दिइने छ । जिरो होम डेलिभरी नीति कार्यान्वयनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष मुक्तानले बताए ।

गाउँपालिकाले सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई पनि प्राथमिकतामा राखेको छ । बक्यौता, पेश्की तथा बेरुजु फछ्र्यौटलाई प्राथमिकता दिँदै शून्य बेरुजुतर्फ उन्मुख हुने नीति लिइएको अध्यक्ष मुक्तानले जानकारी दिए ।

बजेटको आयतर्फ संघीय सरकारबाट ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसमा वित्तीय समानीकरणतर्फ ९ करोड ८९ लाख, सशर्त अनुदानतर्फ १९ करोड २५ लाख, राजस्व बाँडफाँटतर्फ १० करोड ३ लाख ९१ हजार, समपूरक अनुदानतर्फ २ करोड ५९ लाख र विशेष अनुदानतर्फ १ करोड रुपैयाँ रहेको छ ।

प्रदेश सरकारबाट ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेशतर्फ वित्तीय समानीकरण अनुदान ८१ लाख ९८ हजार, सशर्त अनुदान १ करोड ३२ लाख ७९ हजार, राजस्व बाँडफाँट ३ करोड ८२ लाख ४४ हजार ९१०, समपूरक अनुदान २ करोड ८० लाख र विशेष अनुदान ७० लाख रुपैयाँ रहेको छ । गाउँपालिकाको आन्तरिक स्रोत तथा विभिन्न शीर्षकबाट ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

व्ययतर्फ सामाजिक विकासमा सबैभन्दा बढी २४ करोड ८९ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ १५ करोड ७० लाख, आर्थिक विकासतर्फ २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७५ लाख ५४ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४३ लाख र गाउँपालिका प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँसभाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।

गाउँसभाकै अवसरमा १० जना चेलीलाई नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा वडा नम्बर २ की मुना चेपाङ, वडा नम्बर ४ की शान्तिमाया मुक्तान, वडा नम्बर ६ की सावित्री अधिकारी, वडा नम्बर ९ का संगीता गलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा तथा वडा नम्बर १० का फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान रहेका छन् ।

कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पूरा भएपछि विवाह गर्ने चेलीलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष मुक्तानले बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पर्ने भएकाले यसको न्यूनीकरणका लागि चेली प्रोत्साहन कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img