मनोरञ्जनफिल्म ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

फिल्म ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

काठमाडौँ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाको पहिरनमा प्रस्तुत भएकी छन्।

गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। हर्क साउदको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन्। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

अभिनेत्री नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल डीओपी रहेको फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्।

फिल्मको सम्पादन तथा टिजर–ट्रेलर साहिल खानले तयार पार्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको फिल्मको वितरण जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img