हेटौँडा । हेटौँडा अस्पतालले हेमोडायलाइसिस सेवा थप विस्तार गरेपछि प्रतीक्षा सूचीमा रहेका मिर्गौलाका बिरामीले पनि नियमित उपचार पाउने भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालले थप १६ वटा हेमोडायलाइसिस मेसिन खरिद गरी सञ्चालनमा ल्याएपछि यसअघि प्रतीक्षामा रहेका १ सय १० जना बिरामीलाई समेत नियमित सेवामा समावेश गरिएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पतालका अध्यक्ष भीमसागर गुरागाईंका अनुसार यसअघि अस्पतालमा नियमित डायलाइसिस सेवा लिँदै आएका १ सय २ जना बिरामी थिए । बुधबारदेखि प्रतीक्षा सूचीमा रहेका १ सय १० जना बिरामीलाई समेत उपचार तालिका बनाएर सेवामा समावेश गरिएको उनले जानकारी दिए । उनका अनुसार अब हालसम्म आएका बिरामीमध्ये कसैले पनि डायलाइसिसका लागि पालो कुर्नु नपर्ने अवस्था बनेको छ ।
यसअघि डायलाइसिस मेसिनको अभावका कारण अस्पतालले दैनिक ३५ देखि ४० जना बिरामीलाई मात्र सेवा दिन सकिरहेको थियो । सेवा विस्तारपछि अब दैनिक ६० जनासम्म बिरामीलाई हेमोडायलाइसिस सेवा दिन सकिने अस्पतालले जनाएको छ । अस्पतालमा पहिले १४ वटा हेमोडायलाइसिस मेसिन भए पनि तीमध्ये ५ वटा नियमित सञ्चालनमा नआउँदा अधिकांश दिन ९ वटा मेसिनबाट मात्रै सेवा दिइँदै आएको थियो ।
प्रतिष्ठानले १६ वटा नयाँ मेसिन थप गरेपछि सेवा विस्तार सम्भव भएको हो । नयाँ मेसिन खरिदका लागि प्रतिष्ठानको २ करोड र बागमती प्रदेश सरकारको २ करोड गरी कुल ४ करोड रुपैयाँ लगानी गरिएको छ । रजिष्ट्रार गुरागाईंका अनुसार अब २० वटा मेसिन नियमित डायलाइसिस सेवाका लागि सञ्चालन हुनेछन् । त्यसैगरी २ वटा आकस्मिक डायलाइसिस, २ वटा आइसीयू, २ वटा एचआइभी तथा हेपाटाइटिस संक्रमित बिरामीका लागि र ४ वटा मेसिन वैकल्पिक रूपमा रहनेछन् ।
हाल डायलाइसिस विभागमा २५ जनाभन्दा बढी कर्मचारी कार्यरत छन् । हेटौँडा अस्पतालले तीन वर्षदेखि डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । तर, मेसिन अभावका कारण यस क्षेत्रका सबै मिर्गौलाका बिरामीले सहज रूपमा सेवा पाउन सकेका थिएनन् ।
पत्नीको हेमोडायलाइसिस गराउँदै आएका हेटौँडा–११ का चन्द्रलाल तामाङले अस्पतालको सेवा विस्तारले बिरामी र परिवारलाई सहज भएको बताए । “स्वास्थ्यकर्मीको पारिवारिक व्यवहार र सेवा विस्तारले हामीलाई धेरै सहज भएको छ,” उनले भने ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता उत्सव चौलागाईंले मेसिन पर्याप्त भएपछि अब डायलाइसिसका बिरामीले कुर्नु नपर्ने बताए । “अब डायलाइसिस मेसिन पर्याप्त भएकाले बिरामीले पालो कुर्नु पर्दैन,” उनले भने ।



