समाजशंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल

शंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल

हेटौँडा। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो गतिविधिलाई सञ्चार क्षेत्रसहित समग्र समाजमा आतंक सिर्जना गरेर शासन गर्न खोजिएको प्रयासको रूपमा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोख्रेलले राज्य जिम्मेवार मात्र भएर नपुग्ने, हरेक क्षेत्रले अभिभावकत्वको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताएका छन्। उनले यस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिएर नागरिकमा सुरक्षा र विश्वासको वातावरण कायम गर्न राज्यसँग आग्रह गरेका छन्।

पोख्रेलले शंकास्पद गाडी पार्किङ गरिएका सञ्चारमाध्यमका सम्पादकहरूसँग समेत कुराकानी गर्दै घटनाबाट विचलित नहुन र निर्भीक तथा निष्पक्ष पत्रकारितालाई निरन्तरता दिन आग्रह गरेका छन्।

उनले सञ्चारकर्मीलाई कसैको भर नपरी सजग रहन अपिल गर्दै नेपाली प्रेस कुनै पनि दबाब वा त्रासबाट पछि नहट्ने बताएका छन्।

“निर्भीक पत्रकारिताको पक्षमा अझै सशक्त भएर उभिने साहस नेपाली पत्रकारितासँग छ। यो चुनौतीपूर्ण समयमा म सहित सिङ्गो नेपाली प्रेस जगत तपाईंहरूको साथमा छ,” पोख्रेलले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img