हेटौँडा | वैकल्पिक सडकमा सवारी चाप बढेपछि मंगलबारदेखि हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारीलाई दिशाअनुसार छुट्टाछुट्टै रुटबाट सञ्चालन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौँ जाने १४ सिटभन्दा कम क्षमताका साना सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन्। काठमाडौँबाट हेटौँडा आउने साना सवारी भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनेछन्।
१० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारी काठमाडौँ जाँदा त्रिभुवन राजपथ र काठमाडौँबाट हेटौँडा फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्ने प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारीको चाप बढेको हो। सुवेदीका अनुसार नयाँ व्यवस्थाले साँघुरा सडकमा हुने जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार सोमबार सवारी व्यवस्थापनका लागि विभिन्न स्थानमा केही समय सवारी रोकेर पालैपालो सञ्चालन गरिएको थियो। काठमाडौँमा इन्धन आपूर्ति सहज बनाउन करिब ६० देखि ७० वटा इन्धन ट्याङ्करलाई प्राथमिकताका साथ पठाइएको उनले बताए ।
ट्राफिक व्यवस्थापनका लागि प्रदेश प्रहरी तालिम केन्द्रबाट थप आठ प्रहरीसमेत परिचालन गरिएको विष्टले जानकारी दिए ।




