हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने भएको छ ।
भदौ २२ गते सोमबार तीनवटै जिल्लाभर सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता पदम ओझाले प्रदेश राजपत्रमा प्रकाशित सूचनाका आधारमा बिदा दिइएको जानकारी दिए ।
न्वागी चेपाङ समुदायको नयाँ अन्नसँग जोडिएको सांस्कृतिक पर्व हो । समुदायले नयाँ बाली पहिले पितृ र देवीदेवतालाई चढाएपछि मात्र उपभोग गर्ने परम्परा छ ।
मकवानपुर, चितवन र धादिङ चेपाङ समुदायको उल्लेख्य बसोबास भएका जिल्ला हुन् । प्रदेश सरकारले समुदायको सांस्कृतिक पर्वलाई मान्यता दिँदै जिल्लाभर बिदा दिएको हो ।




