हेटौँडा | मकवानपुरको ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजित वार्षिक मेला सम्पन्न भएको छ।
मकवानपुरगढी गाउँपालिका–२ स्थित वंशगोपाल मन्दिरमा शुक्रबार बिहानैदेखि श्रीकृष्णको दर्शन तथा पूजाआराधनाका लागि श्रद्धालुको चहलपहल रहेको थियो। जिल्लाका विभिन्न स्थानसँगै बाहिरी जिल्लाबाट समेत भक्तजन मेला भर्न तथा ऐतिहासिक गढी अवलोकन गर्न पुगेका थिए।
मकवानपुरगढी–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनका अनुसार सेन वंशको इतिहाससँग जोडिएको गढी धार्मिकसँगै ऐतिहासिक महत्व बोकेको क्षेत्र हो। गढी परिसरमा सेन वंशको समयमा स्थापना गरिएको भगवान् श्रीकृष्णको मूर्ति तथा शिवलिङ्ग रहेको उनले बताए।
मकवानपुरगढीमा प्रत्येक वर्ष जन्माष्टमीका अवसरमा विशेष पूजाआराधनासहित मेला आयोजना हुँदै आएको छ। विगतका वर्षमा चारदेखि पाँच हजारसम्म भक्तजन सहभागी हुने गरेको वडाध्यक्ष पाख्रिनले जानकारी दिए।
यस वर्ष पछिल्लो प्राकृतिक विपद्को प्रभावका कारण बिहानको समयमा विगतको तुलनामा भक्तजनको उपस्थिति केही कम देखिएको थियो।
मेला व्यवस्थित बनाउन गढी तथा मन्दिर परिसर सरसफाइ, शौचालय र दर्शनका लागि लाइन व्यवस्थापन गरिएको थियो। जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, पुजारी तथा स्थानीयवासी व्यवस्थापनमा खटिएका थिए।




