हेटौँडा । काठमाडौँमा बसेर लोकसेवाको तयारी गरिरहेकी बाराको महागढीमाई–११ की २१ वर्षीया बबिया कुमारी यादव परीक्षा दिन वीरगञ्ज जाँदै थिइन्। तर मंगलबार मकवानपुरको इन्द्रसरोवर–२ सुकौरामा उनी सवार ईभी दुर्घटनामा पर्यो। दायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेकी बबिया अहिले हेटौँडा अस्पतालमा उपचाररत छिन्।
अस्पतालमा कुराकानीका क्रममा उनले गाडी सडकबाट खसेर पल्टिँदै गर्दा आफू झ्यालबाट बाहिर निस्कन सफल भएको बताइन्। दुर्घटनाअघि गाडी तीव्र गतिमा गुडिरहेको उनको भनाइ छ। प्रहरीले भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौँबाट हेटौँडा हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी दिउँसो २ बजे हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। गाडीमा चालकसहित छ पुरुष र दुई महिला गरी आठजना सवार थिए।
दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ का करिब २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ का करिब ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर–३ लिपनीमालका ३२ वर्षीय सरफरोस मियाँ छन्।
प्रहरीका अनुसार ठकुरीको राहदानी तथा नागरिकता, भट्टराईको नागरिकता तथा राष्ट्रिय परिचयपत्र र कानुको राहदानीका आधारमा पहिचान खुलेको हो। चारै मृतकको सनाखत भइसकेको छ भने शव हेटौँडा अस्पताल ल्याइएको छ।
बबियासहित चारजना घाइते भएका छन्। चालक बाराको कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय अमिर अन्सारीको टाउको, दायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ। मकवानपुरगढी गाउँपालिका–१ का करिब २३ वर्षीय राजकुमार स्याङ्तानको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था गम्भीर छ।
हेटौँडा उपमहानगरपालिका–११ की करिब २३ वर्षीया कल्पना तामाङको ढाड, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ। अन्सारी, स्याङ्तान र तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। हेटौँडा अस्पतालमा उपचाररत बबियाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर दिउँसो २ बजेर १० मिनेटमा प्राप्त भएपछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा ट्राफिकसहित २१ जना प्रहरी उद्धारमा खटिएका थिए।
नेपाली सेनाको गोरखबहादुर गणबाट १० जना र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस कुलेखानीबाट १० जनाको टोलीसमेत उद्धारमा सहभागी भएको थियो। प्रहरीका अनुसार साँझ ५ बजेर ५ मिनेटसम्म चारै घाइते उपचारका लागि सम्बन्धित अस्पताल पुगिसकेका थिए।
दुर्घटनाका कारण सडक आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए।




