मकपानपुर । असोज कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष (सोह्र श्राद्ध) आज असोज कृष्ण औँसीका दिन दिवंगत पितृहरूको स्मरण र श्राद्ध गर्दै समापन गरिँदैछ। सोह्र श्राद्ध समाप्त भएसँगै भोलि (आइतबार) देखि दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् पर्व बडादशैँ औपचारिक रूपमा सुरु हुँदैछ।
पितृ पक्षको १५ तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। कुनै कारणवश यस पक्षका अन्य तिथिमा श्राद्ध रोकिएको भए आजैका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।
आज पनि श्राद्ध गर्न नसकिएमा असोज शुक्ल प्रतिपदादेखि असोज शुक्ल पञ्चमीसम्म गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। उनका अनुसार उक्त समयमा पनि सम्भव नभए कात्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म जुराएर श्राद्ध गर्न सकिने शास्त्रीय मत छ।
सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायतका पवित्र तीर्थस्थलहरूमा तर्पण र पिण्डदान गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ। भोलि घटस्थापनाका दिन घरघरमा जमरा राखेर दशैँको स्वागत गरिन्छ।


