हेटाैँडा । धादिङको गल्छी क्षेत्रमा पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी-बल्खु सडक खण्डमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। दसैँको समयमा यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर आवतजावतको व्यवस्था मिलाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाडीलाई प्राथमिकता दिइएको छ। सडक साँघुरो र घुम्तीहरू अप्ठ्यारा भएकाले त्रिभुवन राजपथलगायत वैकल्पिक मार्गमा आलोपालो प्रणाली (वान-वे) मार्फत सवारी साधन सञ्चालन भइरहेका छन्।
सवारी व्यवस्थापनका क्रममा केही गाडीलाई १ देखि २ घण्टासम्म रोकेर छाड्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णयअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक गाडीलाई मात्र चल्न दिइएको छ। १० चक्काभन्दा बढी भएका र १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारी साधनलाई भने यो सडक प्रयोगमा रोक लगाइएको छ।
यसैगरी, साना यात्रुवाहक सवारी साधन (टाटा सुमो तथा विद्युतीय गाडी) का लागि भीमफेदी सडक खण्डबाट दोहोरो आवतजावतको व्यवस्था मिलाइएको छ। हेटौँडाको चौकीटोलमा साना गाडीको पार्किङ र यात्रु चढाउने स्थान तोकिएको छ। जोखिमयुक्त मानिएका देउराली र जुरिखेतलगायतका स्थानमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ।
बडादसैँका अवसरमा यात्रुको ठगी नियन्त्रण र सहजीकरणका लागि हेटौँडा बसपार्क र चौकीटोलमा ‘यात्रु सहायता कक्ष’ समेत सञ्चालनमा ल्याइएको छ। तोकिएको भन्दा बढी भाडा असुलेमा वा यात्रामा समस्या परेमा सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।


