हेटाैँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले नेपाल प्रहरी असल र सोझा नागरिकका लागि साथी तथा गलत काम गर्नेहरूका लागि कारबाही गर्ने शक्तिका रूपमा रहनुपर्ने बताएकी छन्। ७१औँ प्रहरी दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी आमनागरिकको भरोसा र विश्वासको महत्वपूर्ण संस्था बनेको उल्लेख गरिन्।
नगर प्रमुख लामाले शान्ति सुरक्षा कायम गर्नुका साथै विपद् र अप्ठ्यारा परिस्थितिमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरिन्। समाज र राजनीतिक परिवर्तनसँगै प्रहरीले आफूलाई संस्थागत रूपमा विकास गर्दै लगेको र नागरिकको अपेक्षा पनि बढेको उनको भनाइ छ।
स्थानीय तह र प्रहरीबीचको सहकार्यबारे चर्चा गर्दै उनले हेटौँडा उपमहानगरपालिका, बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबीच निरन्तर समन्वय भइरहेको जानकारी दिइन्। विपद् व्यवस्थापन तथा सुरक्षा सम्बन्धी काममा प्रहरीलाई सहज वातावरण बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताइन्।
नागरिकले खोजेको सुशासन र विश्वास कायम गर्न प्रहरी र स्थानीय सरकारको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा नगर प्रमुख लामाले जोड दिइन्। सो अवसरमा उनले अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुभकामनासमेत आदानप्रदान गरेकी थिइन्।


