मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन प्रक्रिया रोकिएका कारण प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन र प्रहरी प्रशासन सञ्चालनमा व्यावहारिक कठिनाइ भइरहेको बताएका छन्। संविधानले प्रदेश सरकारलाई दिएको अधिकार कार्यान्वयनका लागि प्रहरी समायोजन अति आवश्यक रहेको उनको भनाइ छ।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले समायोजनमा ढिलाइ हुँदा सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमै चुनौती थपिएको उल्लेख गरे। प्रदेशको भौगोलिक अवस्था र स्थानीय सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरी परिचालन गर्न प्रदेश सरकारले अधिकार पाउनुपर्ने उनले बताए।
सङ्घीय सरकार र सम्बन्धित निकायलाई समायोजन प्रक्रिया चाँडो टुङ्गोमा पुर्याउन आग्रह गर्दै मुख्यमन्त्री थापा मगरले यसबाट प्रहरीको वृत्ति विकास र जनशक्ति परिचालनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा उनले प्रदेश सरकार प्रहरी संगठनलाई आधुनिक, प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए। बागमती प्रदेश सरकारले स्थापनाकालदेखि नै प्रहरीका भौतिक पूर्वाधार निर्माण तथा सवारीसाधन उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने उनले जानकारी दिए।


