हेटौँडा । लगातारको वर्षाका कारण पहिरो र लेदो खसेपछि हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। कान्ति लोकपथमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा लेदो खसेपछि यातायात प्रभावित भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार कान्ति लोकपथको मकवानपुर र ललितपुर खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी सञ्चालन हुन सकेको छैन। निरन्तर वर्षाका कारण सडकमा थप पहिरो खस्ने जोखिमसमेत रहेको छ।
त्यस्तै, हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ मा लेदो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ। सडकको उकालो भागमा लेदो जमेका कारण सवारीसाधन सञ्चालनमा समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रमुख विष्टका अनुसार सडकमा खसेको लेदो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरी काम भइरहेको छ। लेदो पन्छाएर सवारी आवागमन सहज बनाउने प्रयास जारी रहेको उनले जानकारी दिए।
यता हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने सडक भने सञ्चालनमा रहेको छ। त्रिभुवन राजपथमा पनि सवारीसाधन आवतजावत भइरहेको विष्टले बताए। कान्ति लोकपथ र सिस्नेरी सडकमा समस्या देखिएपछि यात्रुका लागि यी दुई सडक वैकल्पिक मार्गका रूपमा रहेका छन्।
मकवानपुरमा बिहीबार साँझदेखि सुरु भएको वर्षा शनिबार बिहानसम्म निरन्तर भइरहेको छ। वर्षाका कारण विशेषगरी पहाडी सडकमा पहिरो खस्ने, लेदो बग्ने तथा सडक अवरुद्ध हुने जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको पूर्वानुमानअनुसार बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने जनाइएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषको प्रभाव शनिबार अपराह्नदेखि क्रमशः कमजोर हुँदै जाने र मौसम सुधार हुने सम्भावना छ। यद्यपि, लगातारको वर्षाले कमजोर बनेका सडकमा पहिरोको जोखिम कायमै रहन सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन आवश्यक छ।
ट्राफिक प्रहरीले हेटौँडा–काठमाडौँ यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। सडकसम्बन्धी जानकारीका लागि ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिनेछ।


