बझाङ। बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा आज (सोमबार) बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट करिब ९०० मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, उनका ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। अटोरिक्सामा सवार सोही परिवारका १३ वर्षीय विक्रम महरा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले जानकारी दिए।
वडा नम्बर १० का अध्यक्ष प्रेम ओखेडाका अनुसार मृतकहरू चाडपर्व मनाएर डडेल्धुरातर्फ जाँदै थिए। स्थानीय शिक्षक दीपक महराले एकै दुर्घटनामा श्रीमती, छोरा, छोरी र भतिजी गुमाएका छन्।
दीपकले यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालय बडालमा अध्यापन गराउँदै आएका थिए भने छोरा रियास र भतिजी तारा सोही विद्यालयमा अध्ययनरत थिए। गत साउनमा दीपकको बुङ्गल नगरपालिका–८ स्थित सत्य माध्यमिक विद्यालय तोलीचौरमा सरुवा भएको थियो।
प्रहरीले दुर्घटनाग्रस्त अटोरिक्साका चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।


