जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) आज (सोमबार) बिहान ६ बजे पोखरीमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता ओम प्रकाश खनालका अनुसार यादव आइतबार पोखरीमा छठघाट बनाएर एक्लै रुङ्न बसेका थिए। बिहान मृत भेटिएका उनको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल नजिकै पोखरीको पानीमा परालको कुटी काट्ने दाउसमेत फेला पारेको छ। घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको डीएसपी खनालले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएकोले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। सोधपुछ तथा थप अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।


