काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको छ।
वातावरण तथा मौसम विवरणअनुसार आज विराटनगरमा वायु गुणस्तर सूचकांक (एक्यूआई) २४६ पुगेको छ, जुन ‘अति अस्वस्थकर’ श्रेणीमा पर्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई १५० नाघेपछि हावा सबैका लागि अस्वस्थकर हुन्छ भने २०० नाघेपछि अति अस्वस्थकर बन्ने गर्छ।
विराटनगरबाहेक देशका अन्य प्रमुख सहरहरूमा पनि प्रदूषणको मात्रा उच्च बिन्दुमा पुगेको छ। आज काठमाडौँमा एक्यूआई १६३, वीरगन्जमा १६४, चितवनमा १५५ र नेपालगन्जमा १५१ रेकर्ड गरिएको छ।
वर्षा रोकिएर वायुमण्डल स्थिर हुनु, विभिन्न ठाउँमा कृषि अवशेष (पराल) जलाउन थालिनु र छिमेकी देश भारतमा बढेको वायु प्रदूषणको असर नेपालमा पनि देखिएका कारण हावा दूषित बन्दै गएको वायु गुणस्तर विज्ञहरूले बताएका छन्। आगामी दिनमा सुख्खा र चिसो मौसम बढ्दै जाँदा प्रदूषणको मात्रा थप उकालो लाग्ने सम्भावना रहेको छ।
प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञ तथा चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। बिहान र बेलुकाको समयमा सकेसम्म घर बाहिर ननिस्कन, हिँडडुल गर्नुपरे अनिवार्य रूपमा राम्रो गुणस्तरको मास्क प्रयोग गर्न सुझाव दिइएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुका बिरामीहरूले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड गरिएको छ।


