काठमाडौँ । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७\७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ ।
प्रादेशिकरुपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट बागमती प्रदेश नै पहिलो स्थानमा देखिएको छ । उक्त प्रदेशमा दुई हजार ६५७ पत्रपत्रिका दर्ता भएको पाइएको छ । काउन्सिलका अनुसार, मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् ।
सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौँ हो । आर्थिक वर्ष २०७७\७८ सम्ममा काठमाडाँै जिल्लामा दुई हजार अखबार दर्ता छन् । काठमाडौँपछि पत्रपत्रिका दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो । दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र प्रकाशित मध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ ।
कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनलाई खुच्याएको तथ्याङ्कले देखाएको छ ।उक्त आर्थिक वर्षसम्म देशभर दुई हजार ७६० अनलाइन काउन्सिलमा सूचीकरण भएका विवरणमा उल्लेख छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै पनि ६२२ अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन् ।
काउन्सिल पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन गर्ने संस्था हो । काउन्सिलले स्वस्थ्य पत्रकारिताको विकास गर्दै यस क्षेत्रलाई उच्च मर्यादामा राख्ने मूलभूत उद्देश्य राखेर काम गर्दैआएको छ ।



