हुम्ला: हिमाली जिल्ला हुम्लामा आलुको मूल्य दैनिक घट्दै गएपछि किसान मर्कामा पर्दै आएका छन् । उत्पादन बढी हुनु र बजार सानो भएपछि मूल्य घट्दै जाँदा किसानले आफ्नो लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परेको हो ।
सिमकोट गाउँपालिका –५ मा प्रतिकेजी ७० रुपियाँमा बिक्री भइरहेको आलु अहिले १५–२० रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ । नयाँ आलु समेत बजारमा आउन सुरु भएपछि पुरानो आलु भएका किसान झनै मर्कामा पर्न थालेका छन् ।
गत असोज महिनामा जमिनबाट निकालिएका आलुलाई जमिनमुनि खाल्डो खनेर किसानले भण्डारण गर्दै आएका छन् । उद्योग वाणिज्य सङ्घका सदस्य टेकबहादुर रोकायाले उत्पादन धेरै बजार सानो भएको कारण किसानका आलु बिक्रीमा समस्या भए पनि सस्तोमा बिक्री गर्नु परेको बताए ।