Monday, January 13, 2025
कृषीनेपाली छुर्पी विश्व बजारमा पुर्‍याउँदै भोजपुरका युवा

नेपाली छुर्पी विश्व बजारमा पुर्‍याउँदै भोजपुरका युवा

सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिका -१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ ।

गाउँमा वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका स्थानीय युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको छ । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बन्ने गरेका छन् । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले  बताए ।

आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम्म पुर्‍याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घर/घरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताए ।

व्यवसायी राईले दैनिक दुई सय ५० देखि तीन सय लिटरसम्म दूध सङ्कलन गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्‍याङलगायत ठाउँमा पुगेर दूध सङ्कलन गर्दै आएको उनले जानकारी दिए ।

यी क्षेत्रका एक किसानले मासिक रु पाँच हजारदेखि ३० हजार हजारसम्मको दूध घरबाट नै बिक्री गरिरहेको राईको भनाइ छ । आफूले पशुपालनको लागि ६० रोपनी जग्गा लिजमा लिएको राईले जानकारी दिए ।

यहाँका किसानको घर÷घरबाट सङ्कलन भएको दूधलाई भोजपुर सदरमुकामका डेरीले पनि लैजाने गरेको राईको भनाइ छ । छुर्पी प्रतिकेजी रु एक हजार एक सय ५० मा बिक्री हुने गरेको छ । नौनी घ्यू प्रतिकेजी रु सात सय र खरुवा घ्यू प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री गर्दै आएको उहाँकी श्रीमती रमला राईले बताइन् । उत्पादित घ्यूँको बजारीकरणमा भने केही समस्या रहेको उनको भनाइ छ । राज्यको तर्फबाट सहयोग भए व्यवसायलाई थप विस्तार गर्न सहज हुने उनको भनाइ छ ।

गाउँमा नै डेरी स्थापनाले किसानलाई सहजता भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । किसानले दूध बिक्री गरेर घर खर्च टार्ने अवस्था बनेको उनको भनाइ छ ।

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यो कार्यक्रमअन्तर्गत विगतका आर्थिक वर्षमा किसानलाइ १३ वटा उन्नत जातको भैँसी वितरण गरेको अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img