Monday, April 28, 2025
अर्थ व्यापारराष्ट्रिय वाणिज्य बैंकले नक्कली सुन दिएर ठगी गरेकाे आराेप
spot_img

राष्ट्रिय वाणिज्य बैंकले नक्कली सुन दिएर ठगी गरेकाे आराेप

  • इलाम, ३ चैत

इलाम नगरपालिका–८ कि विना चेम्जोङले राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाबाट सुन धितो राखेर ऋण लिँदा ठगिएको गुनासो गरेकी छिन् । बैंकबाट धितो फिर्ता लिँदा आफूले राखेको सुन नपाएर जलप लगाएको सिक्री दिएको चेम्जोङको दाबी छ ।

‘मैले १० असारमा पाँच थान सुन धितोमा राखेर एक लाख ४७ हजार रुपैयाँ ऋण लिएको थिएँ । तीन किस्तामा ब्याज साँवा तिरेर १ फागुनमा सुन फिर्ता लिँदा एक तोलाको सिक्री मेरो दिइएन’, उनले भनिन्, ‘यो मेरो होइन भन्दा ‘बैंकलाई विश्वास नगर्ने’ भनेर कर्मचारीले हप्काएर पठाए । त्यो सुनको सिक्री नभएर जलप मात्र रहेछ ।’ चेम्जोङले ३ थान सिक्री, एउटा पञ्चरत्ने चुरा र एउटा औँठी बैंकमा धितो राखेर ऋण लिएर बताइन् । पाँच थान सुन फिर्ता लिँदा एउटा सिक्री सुनको जलप लगाएको सिक्री पाएको चेम्जोङले बताइन् ।

बैंकबाट लिएर घरमा गहना राखेर नारी दिवसको दिन लगाउन खोज्दा सिक्रीको हुप नभएपछि हुप लगाउन सुन पसल पुग्दा आफू ठगिएको थाहा पाएको चेम्जोङले सुनाइन् । ‘नारी दिवसको दिन सिक्री लगाउन खोज्दा सिक्रीको हुप थिएन, हुप लगाउन सुन जाँदा पसलेले यो त सुनै होइन भन्यो । नारी दिवसको दिन बैंक बन्द भएकाले भोलिपल्ट राष्ट्रिय वाणिज्य बैंकमा पुगेर गुनासो गर्दा तपाइँले यही सुन राखेको भनेर फर्काए.’ चेम्जोङले बताइन् ।

‘मैले जलप ल्याएको भए बैंकले कसरी पैसा दियो ?’, चेम्जोङले प्रतिप्रश्न गर्दै भनिन्, ‘मेरो गहना यो होइन भनेर त मैले त्यती बेलै भनेको थिएँ ।’ चेम्जोङले दिउँसो साढे २ बजेतिर बैंकमा पैसा बुझाएको र कर्मचारीले साढे ३ बजेतिर आउने भनेपछि कर्मचारीले बेलाएको समयमा आफू बैंक गएको बताइन् । साढे ३ बजेतिर बैंक पुग्दा किन यति चाँडै आएकाे भन्दै पर्खिन भनेपछि झन्डै ५ बजेतिर मात्र गहना पाएको उनले बताइन् ।

‘पाँचै बज्न लागेको थियो, ढिलो भएर घरबाट फोन आइरहेकाे थियो, गहना दिएपछि यसो हेरे एउटा मेरो होइन जस्तो लाग्यो । एक पटक गएर कर्मचारीलाई यो मेरो होइन जस्तो छ भनेँ । तर, कर्मचारीले बैंकलाई विश्वास नगर्ने भनेपछि, यही होला भनेर फर्किएँ’, उनले थपिन्,‘गहना घरमा लगेर राखियो खासै ख्याल गरिएन, पछि हुप लगाउन सुन दोकानमा पुग्दा मात्र सुन होइन भन्ने थाहा भयो ।’

चेम्जोङले आफू ठगिएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । प्रमुख जिल्ला अधिकारीलाई समेत भेटेर गुनासो गरेको बताइन् । तर, प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीले उनलाई ढिलो भएको भन्दै फर्काइदिएका छन् ।

यता राष्ट्रिय वाणिज्य बैंक इलामका शाखा प्रबन्धक इन्द्र कार्कीले उनले सुन मेरो होइन भनेर गुनासो नगरेको बताए । ‘यो मेरो होइन भनेर उहाँ मकहाँ आउनु भएन, त्यही दिन भनेको भए भेरिफाइ हुन्थ्यो’, उनले भने,‘यतिका दिन घरमा लगेर ल्याउँदा कसरी भेरिफाइ गर्नु ?’ शाखा प्रबन्धक कार्कीले त्यही बेला गुनासो गर्नुपर्ने बताए । ‘उहाँहरूले आफ्नो गहना चिन्नु हुन्छ, आफ्नो होइन भन्ने लागेपछि मलाई गुनासो गर्नुभएको भए पनि हुन्थ्यो, बाहिरबाट कसैलाई ल्याएर हेर्न लगाएको भए पनि हुन्थ्यो’, शाखा प्रबन्धक कार्कीले अघि भने,‘कसैको फटाइ रहेछ भने त्यही पत्ता लाग्थ्यो, अब यति समयपछि कसैले चेन्ज गरेर ल्यायो भने कसरी थाहा हुन्छ ?’

शाखा प्रबन्धक कार्कीले उनलाई पहिलै पैसा लिएर गहना दिन ढिला पनि नगरेको बताए । ‘सेवाग्राहीको चाप हुन्छ, सुन कर्जा लिन दैनिक १०–१५ सेवाग्राही आउँछन्, स्टोरबाट सुन निकालेर दिन पाँच मिनेट जति जाग्यो होला’,उनले भने,‘सेवाग्राहीकै अघि लाहाछाप खोलेर सुन जिम्मा दिने हो ।’

यता चेम्जोङले भने आफ्नो सामुन्नेमा लाहा छापसमेत नखोलेको र पहिले नै खोलिएको आरोप लगाएकी छिन् । ‘मेरोअघि लाहा छाप खोलिएन पहिले नै खोलिएको थियो’, चेम्जोङले भनिन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img