काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने भएकाे छ ।
निगमका वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले निगम डेढ वर्षपछि नाफामा गएको जानकारी दिनुभयो । आइओसीले दशैं अघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएकाे छ । यो निगमको मासिक नाफा मात्रै हो । डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिंदा निगमले ५५ अर्ब गुमाएको थियो ।
निगमले यो अवधिमा तेल ल्याउन ४० अर्ब ऋण बोकिरहेको छ । ४० अर्ब मध्ये करिब २५ अर्ब आइओसी, १० अर्ब वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो । निगम नाफामा गएपछि मूल्य घटाउने दवाव पर्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा पनि निगमले नघटाएर ठूलो नाफा लिएको भन्दै नागरिकस्तरमा आलोचना हुन थालेको छ ।
मंसिरमा निर्वाचन समेत घोषणा भएकाले सरकारले पनि तेलको मूल्य घटाएर राजनीतिक लाभ लिन खोजिरहेको छ । तर, निगमका उच्च अधिकारी भने ओपेकले दैनिक २० लाख ब्यारल तेल उत्पादन कटौतीको घोषणा गरेपछि मूल्य उकालो लागेको भन्दै भाउ नघटाउने पक्षमा छन् ।
दशैं बिदामा नयाँ मूल्य आएकाले भाउ घटाउने बारेमा कुनै छलफल नभएको निगममा उच्च पदाधिकारी बताउँछन् । यसैबीच, मुलुककै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँस आयातमा १७ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब ४ करोड ४३ लाख मूल्यको २ लाख २७ हजार ५ सय ३६ किलोलिटर इन्धन आयात भएको थियो ।
चालू आर्थिक वर्षको सोही अवधिमा रु ९ अर्ब २० करोड ७३ लाखको १ लाख ९० हजार ९ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएपनि खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको छ ।
वीरगञ्ज नाकाबाट इन्धनको आयात घटेपनि त्यसबाट संकलित राजस्व भने दुई प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा रु ९ अर्ब ६६ करोड ९६ लाख राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा १६ करोड ७२ लाख रुपैयाँ भन्दा बढी अर्थात ९ अर्ब ८३ करोड ६९ लाख राजस्व संकलन भएको छ ।