काठमाडौं, इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ।
भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा भाउ घटाउनेबारे कुनै छलफल नभएको निगम स्रोतले बताएको छ।
बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ। त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।
तर निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी भएकाले तत्काल नेपाली बजारमा भाउ कम हुने या नहुनेबारे यकिन छैन।