धर्म/संस्कृतिआज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन

आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन

आज सरस्वती पूजा । अर्थात्, श्री पञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ ।

आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ ।

वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीका साथै आजको दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।

‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरूमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । हुन त कोभिड सङ्क्रमण जोखिमका कारणले अधिकांश विद्यालयहरू अनलाइन पद्धतिमा चलिरहेका छन्, भौतिक रुपमा विद्यालयहरू बन्द छन् । यस वर्षको सरस्वती पूजाले एउटा नयाँ शिक्षण पद्धति मार्फत हुर्किरहेका पुस्तालाई ज्ञान र अनुशासनको पैरवी गरिरहेको छ ।

तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूmलहरू प्रसादका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रङ्गिन तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरूबाट आज धेरै विद्यालयहरू सजिसजाऊ रहन्छ ।

कोभिडका कारणले यस वर्षको सरस्वती पूजाको रौनकमा केही कमी भने आउन सक्ने देखिन्छ । विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरूमा स्वछन्द विश्वको पुर्नशुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविछिन्न होस् । विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो । रङ्गिन पोसाकमा विद्यार्थीहरूको लर्को आज धेरै विद्यालय परिसरमा देख्न सकिन्छ ।

काठमाडौँमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरी धाराको नील सरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरूमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रूपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चिकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ ।

नेपालभरिका धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठुलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वास राख्ने भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

आजकै दिनमा हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छौँ । अर्कोतर्फ आजको दिन सर्जकहरूको दिन हो । आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त: कालसम्म रहिरहोस् ।

आजको वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रूपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज अनि किंवदन्तीहरूमा पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्दीनका भतिजा तकुद्दीनको असामयिक मृत्युले निजामुद्दीन अत्यन्त मर्माहित भएका थिए, सुफीका महान कवि अमिर फुस्रोले फकिरलाई खुसी पार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हँसाउन सकेको र यो दिनलाई सुफी वसन्त पनि भनिएको जनउक्तिहरू पाइन्छ । त्यसपश्चात् आजको दिनलाई निजामुद्दीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैँ सुफी वसन्तका रूपमा मनाउन थालिएको हो ।

हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा अनेक कार्यक्रम गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img