काठमाडौं । एक महिनादेखि जारी स्वस्थानी व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन हुँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन परम्पराअनुसार सुरु गरिएको यस व्रत देशभरका भक्तजनहरूले महादेव–पार्वतीको आराधनासहित विधिपूर्वक सम्पन्न गर्न लागेका हुन्।
स्वस्थानी व्रतमा सहभागी वर्तालुहरूले आज १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाउँदै भगवतीलाई अर्घ्य दिने धार्मिक विधान छ। चढाइएका प्रसादमध्ये केही भाग पति, छोरा वा मीत छोरालाई अर्पण गर्ने परम्परा रहेको छ भने वैकल्पिक रूपमा पवित्र नदीमा विसर्जन गरिन्छ।
व्रत समापनसँगै आज रातभर जाग्राम बस्ने परम्परा रहेको छ। यस क्रममा भक्तजनहरूले देवी माहात्म्य सुन्ने–सुनाउने गर्छन्। धार्मिक विश्वासअनुसार, यस विधिपूर्वक जाग्राम बस्दा मनोकामना पूरा हुने जनश्रुति छ। स्वस्थानी देवीलाई सुवर्णवर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल एवं सिंहासनमा आसिन चारहात भएकी देवीका रूपमा वर्णन गरिएको छ।
स्वस्थानी व्रत कथामा हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गरेको कठोर तपस्याको वर्णन पाइन्छ। यसैगरी, गोमा ब्राह्मणीले सप्तऋषिको निर्देशनमा व्रत गरेपछि पुत्र वियोगबाट मुक्ति पाएको र छोरा नवराज साँखुको राजा बनेको प्रसंग पनि स्वस्थानी कथामा उल्लेख छ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, स्वस्थानी व्रत समापनका लागि आज मध्याह्नकालमा विशेष पूजा गरी रात्रिमा जाग्राम बस्ने र बिहीबार बिहान फूलपाती नदीमा सेलाएर विधिवत् समापन गरिन्छ।
यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि जारी माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञसहित समापन हुँदैछ। करिब २०० भक्तजनहरूले महिनाभर कठोर माधवनारायण व्रत गरेका छन्। नेवार समुदायले भने आजको दिनलाई ‘सि पुन्हि’ का रूपमा विशेष पूजाआजा गरी मनाउने परम्परा छ।
यसरी, भक्तिभाव, तपस्या, जाग्राम र धार्मिक विधिहरूसहित स्वस्थानी व्रत तथा माधवनारायण व्रतको यस वर्षको धार्मिक अनुष्ठान विधिपूर्वक सम्पन्न हुन लागेको छ।



