मकवानपुर: केही समय अगाडि सार्वजनिक भएको कक्षा १२ को नतिजामा पास हुने सङ्ख्यामा एक अङ्क पनि थप्न नसक्ने विद्यालय बन्यो मकवानपुरको बकैया गाउँपालिकामा रहेको महेन्द्र माध्यमिक विद्यालय । २०७८ मा ३० जना मध्य एक जना पास गराउन सफल भएको उक्त विद्यालयबाट यो वर्ष पास हुने को सङ्ख्या शून्य रह्यो ।
महेन्द्र माध्यमिक विद्यालयको प्राविधिक तर्फ गत शैक्षिक सत्रको प्रकाशित नतिजा अनुसार एक बिधार्थी पनि पास भएनन् ।
विद्यालयले गत शैक्षिक सत्रको नतिजा बारे आफ्नो भन्दा धेरै कमजोरी सरकारको रहेको तर्क गर्छ। उक्त विद्यालयको प्रधानाध्यापक दुर्गाप्रसाद पराजुलीले केही कमजोरी विद्यालयको भएपनि विद्यार्थी पास नहुनुमा सरकारकै नीतिको कमजोरी रहेको तर्क गरे ।
प्रधानध्यापक पराजुलीले भने, “अहिले हामी १२ मा चुक्यौ, कोर्स निर्माण गर्ने बेला बिज्ञान सर्लक्कै हाल्दैनु भयो, ग्रामिण भेगमा रहेका जति पनि प्राविधिक शिक्षालय छन्, यो राष्ट्रिय समस्या भैरहेको छ, यसो भन्दैमा हाम्रो कमजोरी होइन भनेर भाग्न खोजेको त होइन तर, यसमा सरकार पक्ष्य, शिक्षक र विद्यार्थी सबैको कमजोरी देखिन्छ । ”
“अल्ली राम्रो ग्रेड लिनेवाला विज्ञान पढ्न गैरहेको छ र टेक्निकल कोर्स डिजाइनमा पनि समस्या छ ।” सोही विद्यालयका एक शिक्षकले भने । उनले पनि ग्रामीण परिवेशमा प्राविधिक शिक्षा उचित नभएको तर्क गर्दै कलेक्टिभ बिधार्थी भएकै कारण नतिजामा समस्या आएको र सरकारको नीतिमै समस्या रहेको व्याख्या गरे ।
मकवानपुरको पूर्वी भेगमा रहेको बकैया गाउँपालिका ४ स्थित छतिवनमा रहेको उक्त विद्यालयमा रेगुलर र प्राविधिक तर्फ इलेक्ट्रिकल इन्जिनियरिङ कक्षा १२ सम्म पढाई हुन्छ । उक्त विद्यालयले प्राविधिक पठनपाठन सुरु गरेको पहिलो ब्याजमा ३० जना, दोर्सो २३ जना र अहिले ९ जना बिधार्थी रहेका छन् ।