इटहरी – इटहरी उप–महानगरपालिकाले इटहरीका निजी स्कुलहरुलाई थप ब्यबस्थित गर्दै लाने भएको छ। निजी स्कुलहरुमा कार्यरत शिक्षकगणको शैक्षिक बिबरण, नियुक्ती पत्रलगायतका कागजात ७ दिन भित्र बुझाउन पत्राचार गरिएको हो।
उपमहानगरले निजी स्कुलहरुमा कार्यरत कर्मचारी तथा शिक्षकगणको नियुक्ती पत्र, अध्यापन अनुमति पत्र, प्र.अ. नियुक्तिको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो।
निजी स्कुलहरुले आफ्नो स्कुलमा कार्यरत शिक्षकलाई नियुक्ती पत्र नदिएको, सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उप-महानगरले परिपत्र गरेको हो। शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिन भित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको हो।
शिक्षक र शिक्षिकालाई अनिवार्य सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने र बुझाएको बिबरण समेत माग गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोर्ण प्रसाद दाहालले बताए । उनले प्रअको नियुक्ति पत्र देखि कर्मचारी तथा तहगत शिक्षकको पारिश्रमिक विवरण समेत माग गरिएको बताए ।